दाङमा बिकेन मह, माहुरीपालक किसान निराश

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारीका रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उनले ८३ घारबाट माहुरीपालन सुरुआत गरेका हुन् । पहिला माहुरीपालनबाट मेहनतअनुसार कमाई ठिकै थियो । त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले माहुरीका घार थपे ।

“घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन”, राणाले भने। जिल्लामै विगत वर्षभन्दा यस पटक मह उत्पादन बढेको छ। मह नबिकेपछि किसान निराश छन् । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसानले मह घरमै भण्डारण गरी बजार खोज्न थालेका छन् ।

“बजारमा मह खपत हुन सकेको छैन, घरमा यत्तिकै राख्नु परेको छ,” राणाले भने, “फेरि मह उत्पादन हुने याम सुरु भएको छ, बिक्रीकोृ चिन्ता हुन थालेको छ ।” उत्पादन राम्रो भए पनि महले बजार नपाएपछि निराश बनेको तुलसीपुरका मौरीपालक किसान उमेश थापाले बताए ।

footwear zone

खपत हुन नसक्दा घरमै मह राख्नुपर्ने अवस्था आएको घोराही–१८ अम्बापुरका मोहन खत्रीको भनाइ छ। किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । जिल्लामा हाल पाँच सयभन्दा बढी व्यावसायिक रुपमा मौरीपालक किसान रहेको नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताए । “मह नबिक्दा मौरीपालक किसान के गर्ने भन्ने अन्यौलमा छन्”, उनले भने। जिल्लामा हाल १५० टन मह बिक्री नभएर थन्किएको तथ्यांक महासंघसँग छ ।

“मह बिक्री नहुँदा लागत खर्च उठाउन समस्या भएको छ”, श्रेष्ठले भने। आयातीत महले पनि स्थानीय महको बजार प्रतिस्थापन गरेको छ । महको स्थानीय ब्रान्डलाई स्तरीय बनाउन जरुरी रहेको उनको भनाइ छ । दाङको मह पोखरा, काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ । भारतीय बजारबाट आउने सस्तो मूल्यको महका कारण उपभोक्ताले स्थानीय महमा चासो दिएका छैनन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरीजोनकी प्राविधिक सहायक नारायणी घर्ती मौरीपालक कृषकलाई मौरीको नस्ल सुधारदेखि व्यावसायिकरुपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आएको बताए। “बजारीकरणको काम कृषक आफैंले गर्ने गरेका छन्”, उनले भने। यसपटक औसतमा प्रतिघार १२ दशमलव ८३ किलो मह उत्पादन भएको घर्तीले बताए। मौरीजोनमा घोराहीका १०१, तुलसीपुरका ४५ र बङ्गलाचुलीका ११ फार्म सूचीकृत छन् ।

उत्पादित मह सहकारीमार्फत बेच्ने तयारी छ । बजारीकरणमा समस्या भएपछि यहाँका किसान संगठित रुपमा एकद्वार प्रणालीमार्फत मह बिक्री गर्ने तयारीमा जुटेका छन् । मह उत्पादक किसानलाई सहकारी संस्थामा आबद्ध गराउँदै एकीकृत रुपमा मह बिक्री गर्ने तयारी छ ।

You might also like

Comments are closed.