काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरुको छाता संगठन (ईफाप्का) को अध्यक्षमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चयन भएका छन् ।
माल्दिभ्स्को राजधानीमा मालेमा शुक्रवार सम्पन्न ईफाप्काको ४५औं सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो । ईफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका छन्। वणानुक्रम अनुसार (ईफाप्का) का सदस्य राष्ट्रहरुले संगठनको नेतृत्व गर्ने प्रचलनअनुसार माल्दिभ्स्पछि नेपालको पालो आएको हो ।
यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन भएका थिए। मालेमा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षकोरुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरेका छन् ।

अध्यक्ष सिंहसहित नयाँ कार्यसमितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ।
सपथ पछिको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले ईफाप्कालाई सशक्त संगठनको रुपमा अघि बढाउने प्रतिबद्धता जनाए। ईफाप्काका नयाँ महासचिव इन्जिनियर विरेन्द्रराज पाण्डेले ४६औं ईफाप्का सम्मेलन दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना गरिने जानकारी दिए ।




Comments are closed.