काठमाडौं । एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक रु एक खर्बभन्दा बढीको विप्रेषण भित्र्याउँछ, भन्दा सामान्य मानिसले पत्याउँदैन । आइएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिकरुपमा रु एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याएको छ ।
पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंककाअनुसार चालू आवको १० महिनामा मात्रै कूल रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।
देशभित्र भित्रिएको विप्रेषण अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको र त्यसले आर्थिक विकासमा ध्यान दिन नसकेको टिप्पणी भइरहेका बेला आइएमई लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, रोजगारीको विकास र विस्तारका लागि प्रयोग गर्नुपर्छ ।’ अध्यक्ष ढकालले आफ्नो कम्पनीले प्रत्यक्षरुपमा ४० हजारलाई रोजगारी दिएकोसमेत जानकारी दिए।

आफूहरुले संस्था सुरु गर्ने बेला विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले गरेको नीतिगत प्रावधानले सहज भएको उनले जानकारी दिए। अनौपचारिकरुपमा भित्रिँदै आएको विप्रेषण सुरुआती चरणमा आफूहरुकै पहलमार्फत औपचारिकरुपमा आउन थालेको तथ्य पेश गर्दै उनले सरकारले लिने सही नीतिले मुलुकको समृद्धि तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पर्ने बताए।
यसैबीच, आइएमई लिमिटेड स्थापनाको २२औं वर्ष प्रवेश गरेको छ । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन सफल कम्पनीले आइतबार एक कार्यक्रमबीच वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले ग्राहक तथा सम्पूर्ण शुभचिन्तकहरुप्रति कृतज्ञता तथा आभार व्यक्त गरेका छन् ।
आइएमई नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो । नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी सयौं आइएमई सेन्टर सहित देशभर ७७ जिल्लाका हजारौं सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् कम्पनीले विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा वितरण गर्दै आइरहेको छ ।
छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट रकम पठाउन आइएमई रेमिट लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।





Comments are closed.