पुरुषोत्तम सुवेदी, वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगंजबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्यांकनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्यांकनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो ।
पछिल्लोपटक भारतबाट आयात भएको मेशिनरी सामग्रीमा कम मूल्यांकनको प्रज्ञानपत्र राखी यस्ता सामग्री नेपाल भित्र्याउन खोजिएको तथ्य फेला परेको छ । चक्लेटजन्य सामग्रीमा वीरगंज भन्सार नाकाबाट सामग्रीको यर्थाथ कम मूल्यांकनको प्रज्ञापनपत्र जारी गरी चक्लेट नेपाल भित्राइएको भन्दै प्रहरीले चक्लेट बोकेको ट्रक नियन्त्रणमा लिएर कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
केही दिनअघि भारतबाट जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतको चेन्नइस्थित टिभीएस कम्पनीबाट आयात गर्ने गरेका तीन चक्के टेम्पोको पार्टस् भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँचपास गराई चेसिस र इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गरेको थियो । उक्त सामग्रीलाई भन्सारले तीनचक्के टेम्पोको पार्टस् भनेर लाग्ने भन्सार मूल्यभन्दा कम मूल्यांकनको प्रज्ञापनपत्र राखी जाँचपास गराई इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गर्न खोजेको सार्वजनिक भएपछि कार्यालयले यसबारे ढाकछोप गर्न जगदम्बा अटो ग्रुपसँग थप रु १३ लाख ८० हजार राजस्व लिएर मात्र सामग्री छाडेको बताइएको छ ।

पहिलो चरणमा सामग्री जाँच गरी कम मूल्यांकनमा सामग्री छाड्न खोजेको बाहिर आएपछि पुनः जाँचका नाममा जगदम्बा अटो ग्रुपलाई कारबाहीस्वरुप जरिवाना गरिएको विषयले पनि कर्मचारी र व्यापारीबीच मिलोमतो भएको आरोप लागेको छ । उक्त कम्पनीले यसअगावै पनि यसरी कम मूल्यांकन गरी सामग्री लगेको हुनसक्ने र पछिल्लो चार वर्षभन्दा अघि यसरी सामग्री लगेको भए केही कारबाही गर्न नसकिने प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले राससलाई जानकारी दिए । यद्यपि यसबारे पछिल्ला चार वर्षयता जगदम्बा अटो ग्रुपले लगेका सामग्रीबारे थप अनुसन्धान गर्न सकिने प्रावधान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
केही दिनअघि उक्त भन्सारबाट मालवाहक ट्रकमा विभिन्न किसिमका चक्लेटसमेत यथार्थ मूल्यभन्दा कम मूल्यांकनको प्रज्ञापनपत्र राखी नेपाल भित्रिएको भन्दै प्रहरीको टोलीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएर राजस्व विभाग पथलैया पठाएको छ । लाग्ने दरभन्दा कम मूल्यांकन गरी भन्सार छली नेपाल भित्र्याइएको करिब रु ७३ लाख बराबरको चक्लेट र भारतीय ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
ट्रकमा लोड रहेका सामानको तौल र मोल फरक पारी ब्राण्ड उल्लेख नगरी भन्सार कर्मचारीसँग मिली सुगर ललिपपका नाममा कम मूल्यांकनको प्रज्ञापनपत्र बनाई बिनाअनलाइन बिल (भिसीटिएस) खुसी बच्चा नामक भारतीय चक्लेट बरामद गरी राजस्व कार्यालयलाई बुझाइएको प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।
उक्त चक्लेटबारे एकीकृत जाँचचौकीका भन्सार अधिकृत रमेश सुकमनीले ठूलो ट्रक भएका कारण सबै चक्लेट हेर्न नसकिएको तर यद्यपि सबै नियमानुसार चक्लेटको राजस्व लिइएको बताए । प्रहरीले सो क्रममा ट्रक र चालक भारत मध्यप्रदेश ग्वालियर बानमौर थाना वडा नं १४ बस्ने वर्ष ३३ का जबर सिंहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सामान तथा ट्रकको रु ७३ लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।
प्रहरीले नियमविपरीत कम मूल्यांकनको प्रज्ञापनपत्र बनाई अनलाइन बिलबिना चक्लेट नेपाल भित्रिएको भन्दै पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाएको छ । भन्सारमा कार्यरत कर्मचारीले नियमअनुसार मूल्यांकन गरिएको दाबी गरेका छन् । यसबारे राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराका सूचना अधिकारी गौरव पन्थीले उक्त गाडीको अनलाइन बिल नरहेकाले नियमानुसार कारबाही हुने र यसबारे थप अनुसन्धानका लागि भन्सार कार्यालयबाट थप कागजपत्र माग गरिएको जानकारी दिए ।
भन्सार प्रशासक विश्वप्रसाद अर्याल प्रहरीले बरामद गरेको चक्लेटबारे अनलाइन बिल भन्सार कार्यालयअन्तर्गतको जाँचचौकीको काम नभएकाले सोको दोषी स्वयं आयात कम्पनी रहेको र जगदम्बा अटो ग्रुपले भित्र्याएका चेसिस र इञ्जिनसहितको टेम्पोका सामग्रीको पुनः मूल्यांकन गरी दोषी पाइएकाले कारबाहीस्वरुप ग्रुपपलाई जरिवाना गरिएको बताए ।




Comments are closed.