काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ ।
सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९ सय ५५ दशमलव ४८ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रुपैयाँको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ ।
व्यापार घाटा चुलिँदै

चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा छ खर्ब ४४ करोड ६१ लाख रुपैयाँको व्यापार घाटा भएको थियो ।
यसैगरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार सात खर्ब २२ अर्ब ४५ करोड रुपैयाँको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।
१ सय ४१ देशबाट आयात
चालु आवको पहिलो छ महिनामा नेपालमा १ सय ४१ देशबाट नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाख रुपैयाँको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ ।
यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड रुपैयाँ तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।




Comments are closed.