टोखाका सिकाइ केन्द्रमा ‘निःशुल्क इन्टरनेट सेवा’

काठमाडौं । टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको हो ।

नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय टोखा, झोर–महाङ्काल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको राससलाई जानकारी दिए । “इन्टरनेट जडानसँगै घरमा इन्टरनेट सेवाको पहुँच नभएका विद्यार्थीलाई अध्ययनका लागि सहज हुने गरेको छ”, उनले भने,“टोखाले आगामी वर्षको लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ ।

यस्तै, टोखाले आगामी आर्थिक वर्षमा प्राविधिक विद्यालय स्थापनका लागि पहल गर्ने बताएको छ । नगरपालिकाले आव २०७८÷७९ नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कलेज तहसम्म स्तरोन्नति गर्ने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको लागि ‘मेयर दिवा खाजा कार्यक्रम’ लाई निरन्तरता दिने बताएको छ । ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति अवलम्बन गरेको टोखाले एक वडा एक सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।

footwear zone

वाग्मती प्रदेश सरकारले गत आवदेखि नै शुरु गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’लाई आगामी वर्षमा थप विस्तार गरेकोमा आवश्यक सहजीकरण गरी सामुदायिक विद्यालयमा आलोपालो हेर्ने व्यवस्था मिलाउने सो नगरपालिकाले जनाएको छ । टोखामा हाल ८ सामुदायिक विद्यालय रहेका छन् । यस्तै, ८० वडा संस्थागत र ३ वटा वैकल्पिक विद्यालय रहेको शिक्षा शाखा प्रमुख गौतमले बताए ।

You might also like

Comments are closed.