काठमाडौं । पूर्व ऊर्जा सचिव सूर्यनाथ उपाध्यायले निजी क्षेत्रलाई विद्युत व्यापारमा भित्र्याउने परिकल्पना २०४९ सालमै गरिएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारण सभामा इप्पानले दिने ऊर्जा ज्योति पुरस्कार ग्रहण गरिसकेपछि बोल्दै उपाध्याले विद्युत व्यापारमा निजी क्षेत्र आउन ढिला भइसकेको बताए ।
‘अब विद्युत प्राधिकरणले मात्र विद्युत व्यापार गरेर हुँदैन । निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनुपर्छ,’ उनले भने । निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने परिकल्पना धेरै पहिला गरिएको भएपनि अहिलेसम्म पनि व्यापारको अनुमति नपाएकोमा उनले दुख व्यक्त गरे । ‘निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने परिकल्पना गरिएको २०४९ साल ताकै हो । त्यो बेला साउथ एशियामा कतै पनि निजी क्षेत्रले विद्युत व्यापारको अनुमति पाएकै थिएन,’ उनले भने ।
त्यो बेला परिकल्पना गरिएको कुरा ३० वर्षसम्म पनि पूरा नभएकोमा उपाध्यायले दुःख व्यक्त गरेका हुन् । आज निजी क्षेत्रले ७ हजार मेगावाट विद्युत उत्पादन गर्दै छ । त्यसको सुरुवात मेरै पालामा भएको थियो । त्यो कुराको भने खुशी लागेको उनले बताए ।

भारतले नेपालबाट १० हजार मेगावाट विजुली लैजाने कुरा सहमति भएको छ । नेपालका लागि भारत नभइ नहुने मित्र हो । भारतसँगको सम्बन्ध राम्रो हुनुपर्छ । तर यो कुनै पनि क्षेत्रमा सहज भने हुन नसकेको उनले बताए । आफू नेपाल भारत प्रवुद्ध समूहको पनि सदस्य रहेकोले नेपाल र भारतका बीचमा कहाँ कहाँ अफ्ठ्यारा छन् भन्ने आफूलाई जानकारी रहेको उनले बताए । न व्यापारमा, न सीमामा, न राजनीतिमा, न कुनै आयोजना निर्माणमा कतै पनि नेपाल भारतको सम्बन्धमा घनिष्ठता नदेखिएको उनको भनाइ छ ।
‘महाकाली आयोजनामा कमिट गरेका कुरा अहिलेसम्म पूरा भएका छैनन् । यसको अर्थ नेपालले लाभ पाउन सकेन । भारतले भने आफूले भने अनुसारको लाभ पाइरहेको छ,’ उनले भने, ‘अहिले जुन १० हजार मेगावाटको सम्झौता भएको छ । हामीले हेर्दा प्रधानमन्त्रीको भ्रमण ज्यादै सफल भयो । तर संयुक्त विज्ञप्ती आएन । त्यसकारण कतिपय कुरा अझ पनि स्पष्ट हुनु जरुरी छ ।’




Comments are closed.