प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान

इप्पानले ऊर्जामा चिनियाँ लगानीदेखि विद्युत व्यापारका विषयमा छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण दलमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान भएको छ । असोज ६ देखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० सम्म) हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष राम प्रसाद आचार्य चीन प्रस्थान भएका हुन् । उनीहरुलाई वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, महासचिव बलराम खतिवडा, उपाध्यक्ष आनन्द चौधरी र उत्तम भ्लोन लामाले इप्पानबाट औपचारिक रुपमा बिदाइ गरेका छन् ।

नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकोले चीन भ्रमणका क्रममा इप्पानले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्ने अध्यक्ष कार्कीले बताए ।

नेपाल र चीन बीच विद्युत व्यापारका लागि अन्तरदेशिय प्रसारणलाइन निर्माणलाई जोड दिन इप्पानले प्रधानमन्त्रीलाई आग्रह गर्ने छ । निजी क्षेत्रबाट चीनमा विद्युत व्यापारका लागि पनि छलफल हुने अध्यक्ष कार्कीले बताए ।

footwear zone

‘नेपाल सरकारले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित ऊर्जा विकास मार्ग चित्र २०३५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो क्षमतामा विद्युत उत्पादन गर्न धेरै नै ठूलो लगानीको खाँचो पर्ने छ । त्यसैले इप्पानले नेपालमा चिनियाँ सहित उनीहरुको सम्पर्कमार्फत आउन सक्ने सम्भावित लगानीका लागि पनि चिनियाँ पक्षसँग छलफल गर्ने छ ।’ अध्यक्ष कार्कीले भने ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरु, व्यापारिक समुदायबाट इप्पानसँगै अन्य निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी छन् । प्रधानमन्त्री दाहालसँगै उनको सचिवालयका सदस्यहरु भने अमेरिकाबाटै चीन प्रस्थान भएका छन् ।

You might also like

Comments are closed.