पोखरा । कास्कीमा प्रधान कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लि. र दाङमा प्रधान कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. मर्जर भएका छन् । मर्जरसँगै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नामबाट मंगलबारदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ ।
नेपाल राष्ट्रबैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा एकीकृत कारोबार शुभारम्भ मंगलबार पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा बोल्दै निर्देशक भट्टराईले मर्जरले वित्तीय संस्थालाई बलियो तथा सुदृढ बनाउने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बिमला योगीले फरकफरक कार्यक्षेत्रका संस्थाहरु मर्ज भएकाले सदस्य तथा ऋणिको दोहोरो पना नहुने बताइन् । ‘मर्जरले संस्थाको उत्पादकत्वमा वृद्धि गर्नेछ,’ उनले भनिन् ।

मर्जरपछि संस्थाको जारी तथा चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको छ । सदस्य संख्या करिब ८३ हजार पुगेको भने ऋणि सदस्य करिब ३८ हजार पुगेका छन् । कार्यक्षेत्र २० जिल्ला पुगेको छ । संस्थाको लगानीमा रहेको ऋण ३ अर्ब ४० करोड रुपैयाँ छ भने बचतमा करिब २ अर्ब रुपैयाँ छ । ३ सय ५० जना कर्मचारी संस्थामा आबद्ध छन् ।

भविष्यमा राष्ट्रबैंकबाट राष्ट्रियस्तरको स्वीकृति लिएर देशभर सेवा प्रदान गर्ने लक्ष्य लिइएको नायव प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यले बताए । संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन नायव प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले गरेका थिए ।






Comments are closed.