स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको प्राथमिकतामा : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् । जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहनदेखि सहुलियत कर्जा र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्न सरकार गम्भीर भएर लागिपरेको स्पष्ट पारे ।

जुम्लाको गुठिचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रोफर्मको उद्घाटन गर्न शनिबार जुम्ला पुगेका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान छ । एक किसानले एक वर्षमा पाँचसय स्याउका बिरुवा रोप्नुपर्छ ।”

कृषि उत्पादन वृद्धिविना मुलुकको आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै मन्त्री शर्माले भने, “कर्णालीसँग समग्र मुलुकलाई नै पाल्नसक्ने क्षमता भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ ।” उनले किसान पेसन कार्यक्रमलाई दुर्गममा पुर्‍याउने र किसानलाई उपयुक्त प्रविधि मल बीउ समयमै वितरण गर्ने सरकारको पहिलो काम भएको जानकारी दिए ।

footwear zone

“जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ । गुठिचौर एग्रो फार्म जुम्लाको आर्थिक विकासका एक आयाम हो”, अर्थमन्त्री शर्माले भने, “संघीय सरकारले दुर्गमक कृषि क्षेत्र उत्थानका लागि आवश्यक लगानीको नीति बनाउँछ ।” उनले कर्णाली कृषि, पर्यटन, जडीबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र पर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको बताए ।

सांसद गजेन्द्रबहादुर महतले गुठिचौर एग्रोफर्म जुम्लाकै नमूना र आर्थिक समृद्धिको आधार रहेको बताए । उनले गुठिचौर एग्रोफर्मले सयौँलाई रोजगारी सिर्जनादेखि कृषि क्रान्तीको सुरुआत भएको उल्लेख गरे ।

विसं २०७५ देखि सुरुआत गरिएको गुठिचौर एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार बिरुवा रोपिएको सञ्चालक मिमबहादुर भण्डारीले बताए । उनका अनुसार ५० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ । जुम्लाकै ठूलो स्याउ बगैँचा उद्घाटन गर्न अर्थमन्त्री ल्याउनु जुम्लाको सम्भावनालाई देखाउन खोजिएको हो । जुम्लाले कृषि क्रान्तीमा यसले सुरु गर्छ । स्याउलाई आर्थिक समृद्धिको मेरुदण्डका रुपमा खेती गर्न जरुरी छ । जुम्लाले एक घर एक बगैँचाको अवधारणा अघि सारेपछि स्याउ बगैँचा लगाउनेको होडबाजी नै चलेको सञ्चालक भण्डारीले जानकारी दिए ।

गत वर्षभन्दा यो वर्षमा स्याउ उत्पादनमा केही वृद्धि भएकाले किसानले स्याउको उचित मूल्य पाउन नसकेको स्याउ किसानको गुनासो छ । जिल्लाको उत्पादनमूलक स्याउ सुर्खेत, नेपालगञ्ज, कोहलपुर, काठमाडौं, बुटवल, दाङ र नारायणघाटको सहरसम्म पुगे पनि बजारमा जुम्लाको स्याउले खासै मूल्य नपाएको स्याउ व्यापारी धर्मसंह कठायतले बताए ।

You might also like

Comments are closed.