गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास परियोजनाको आर्थिक सहयोग र हिमाली क्षेत्र विकास केन्द्रको समन्वयमा सो पुल निर्माण गरिएको हो ।
पुल निर्माणमा कूल रु ४९ लाख ९१ हजार ३७६ खर्च भएको केन्द्रका संयोजक वीरबल घलेले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाइ ८६ मिटर रहेको छ । पुल निर्माण भएसँगै स्थानीय शङ्कदेवी आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई आवतजावतमा सजिलो भएको स्थानीयवासी राजकुमार ढकालले जानकारी दिए ।

“झोलुङ्गे पुल नहुँदासम्म बालबालिकाले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता थियो, उनले भने, “पुल बनेसँगै अब ढुक्कसँग हाम्रा बालबालिकालाई विद्यालय पठाउन सक्ने भएका छौं ।” उक्त झोलुङ्गे पुलबाट मान्बु ठोट्नेरीदेखि छापगाउँ हुँदै धादिङको बसेरी गाउँसम्मका मानिस दैनिक आउजाँउ गर्ने ढकालले बताए ।




Comments are closed.