टोलदेखि घरसम्म पुगेर ज्येष्ठ नागरिकको सम्मान

झापा । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले ज्येष्ठ नागरिकहरुलाई टोलदेखि घरसम्म पुगेर सम्मान गर्दै आएकी छन् । उनले पालिकाका ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक टोलमा पुगेर सम्मान गर्दै आएकी छन् । कार्यक्रम स्थलसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई भने घरमै पुगेर सम्मान गर्दै गर्छिन् ।

ज्येष्ठ नागरिकको अवस्था बुझ्न र उनिहरुलाई जाडोमा न्यानो ओढ्ने फाइबरको सिरक, पौष्टिक तत्वयुक्त खानेकुरा लिएर जाने गरेको उनले बताइन् । पालिकाले चालु आर्थिक बर्षको बजेटमा रु दुई लाखभन्दा बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्याएको उनको भनाइ छ ।

“कतिपय ज्येष्ठ नागरिकका लागि सानो सम्मान पनि जाडोमा ठूलो भएको छ”, अध्यक्ष काफ्लेले भनिन्, “आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरु सिरक लिएर घरमा पुग्दा खुशीले गद्गद हुनुहुन्छ ।” तीनदिन अघिदेखि शुरु गरेको कार्यक्रममा पालिकाभित्रका २७० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उनले बताइन् ।

footwear zone

सम्मानको कार्यक्रम लिएर घरघरमा पुग्दा कतिपय ज्येष्ठ नागरिकको अवस्था दयनीय पाइएको उनको भनाइ छ । “ज्येष्ठ नागरिक अमूल्य सम्पति, ज्ञान र अनुभवका भण्डार भए पनि कतिपयको जीवन दुःखदायी र कष्टपूर्ण पाएँ, उहाँहरुले पोखेका गुनासा र समस्याको समाधान गर्न सकेसम्म पहल गर्नेछु”, उनले भनिन् ।

सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता विवरणको आधारमा उनिहरुको पहिचान गरिएको उनले बताइन् । गत वर्ष ९० वर्षमाथिका १०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । पालिकाले पठाएको विवरणको आधारमा प्रदेश नम्बर १ को सरकारले प्रतिव्यक्ति पठाइदिएको ज्येष्ठ सम्मान वापतको नगद रु पाँच हजारमा आफूले न्यानो सिरक थपेर वितरण गरेको उनले बताइन् ।

You might also like

Comments are closed.