गाईपालनले बनायो आत्मनिर्भर

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाईगाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन । केही खर्च गर्नु परे पनि श्रीमानको तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाइन् ।

भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रु एक लाखमा पाँच गाई खरिद गरेर व्यावसायिक रुपमै गाईपालनमा लागेकी जोशी अहिले लाखौँको कारोबार गर्छिन् ।

“श्रीमान् ट्रक चलाउनुहुन्छ सानोतिनो केही खर्च गर्न श्रीमान्कै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ”, उनले भनिन्, “अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु।” पाँचवटा गाईबाट सुरुआत गरेकी उनले गाईपालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै गइन् ।

footwear zone

घर छेउमै वार्षिक एक लाख २० हजारमा दुई बिघा जग्गा भाडामा लिएर घाँसखेती गरिन् । अहिले उनको फार्ममा २५ गाई छन् । उनले दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्ने गरेको बताइन्। “दूध बिक्री गर्न अत्तिरिया बजारसम्म आफैँ स्कुटर चलाएर जाने गर्छु”, उनले भनिन्, “स्थानीय बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित संकलन केन्द्रमा पुर्‍याउँछु ।”

रु एक लाखबाट सुरु गरेको व्यवसायमा अहिले उनले मासिक लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताइन्। “घरमा बिना काम बस्नुभन्दा त केही गरौँ भन्ने आँट गरेर व्यवसाय सुरु गरेकी हुँ । अहिले श्रीमान्ले पनि सघाउनु हुन्छ”, उनले भनिन्, “मासिक १५ हजार तलब दिने गरी दुई कामदार छन् ।”

उनले फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुने गरेको गुनासो गरिन्। “गाई थप गर्ने योजना थियो एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ”, उनले भनिन, “आँट गरेर केही काम गरे सफल भइने रहेछ ।” अहिले उनले गाईमात्र नभएर बाख्रापालनसमेत गरेकी छन्।

बाख्रापालनमा समेत राम्रो सम्भावना देखेकी जोशीले बाख्राको आधुनिक खोर निर्माण गरेर बाख्रापालन गर्ने योजना बनाएकी छन् । “अहिले २० वटा छन्, पछि बाख्रा थप्ने योजना बनाएकी छु”, उनले भनिन्, “हामीले जति मेहनत गरे पनि मूल्याङ्कन हुँदैन ।”

उनले गाउँमा दुईचार गाई पाल्नेले सरकारबाट लाखौँको अनुदान लिने गरेको व्यावसायिक रुपमा लाग्नेहरुलाई कतैबाट सहयोग नभएको गुनासो गरिन्। “कृषि काम गर्नेलाई अनुदान दिने कुरा समाचारमा धेरै सुने अहिलेसम्म कतैबाट सहयोग भएन”, उनले गुनासो गर्दै भनिन्, “हामी काम गर्नेलाई त वडामा बजेट आएको पनि थाहा हुँदैन ।”रासस

You might also like

Comments are closed.