कामपाको आर्थिक विधेयक पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो ।

यही असार १० गतेको चौथो सभामा आव ०७८/०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘कामपाको आर्थिक विधेयक, २०७८’ प्रस्ताव गरेका थिए । सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव ०७८/०७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बजेट र विनियोजन विधेयक, २०७८ पेश गरकी थिइन् । यसअघि असार ३ गते सभामा पेश भएको आव ०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम छलफलपछि असार ६ गते बसेको तेस्रो बैठकले पारित गरेको थियो ।

आव ०७८/०७९ का लागि आन्तरिक आयतर्फ रु चार अर्ब ३४ करोड ३२ लाख लक्ष्य राखिएको छ । विश्वभरि फैलिएको कोरोना महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशतदेखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्न बजेट प्रस्ताव गरिएको छ ।

footwear zone

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन, मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमूना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाका लागि बजेट प्रस्ताव गरिएको छ ।

ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीका लागि सहयोग, मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन, उद्यमशीलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, पौरखी मेलालगायतका कार्यक्रम मुख्यरूपमा समेटिएका छन् । नगरसभाको छैटौँ बैठक असार २५ गते बस्नेछ । त्यस बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

You might also like

Comments are closed.