काठमाडौं । कर्णाली प्रदेशका १५ स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम (एलआईएसपी)मा छानिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार नगरपालिका र ११ गाउँपालिकालाई सो कार्यक्रमका लागि छनोट गरेको हो ।
मन्त्रालयले उक्त कार्यक्रमका लागि सहभागी हुन इच्छुक स्थानीय तहलाई यही विसं २०७८ चैत २७ मा पहिलो पटक आशय पेश गर्न आह्वान गरिएकामा ५७ स्थानीय तहले आवेदन दिएका थिए। पेश भएका स्थानीय तहहरुको आशयपत्रको मूल्यांकन गर्दा उच्चत्तम अंक प्राप्त गर्ने ५७ स्थानीय तहमध्ये रास्कोट नगरपालिका र शुभकालिका गाउँपालिका कालीकोट, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जाजरकोट, सोरु र मुगुम कार्मारोङ गाउँपालिका छनोटमा परे ।
त्यस्तै, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिका सुर्खेत, सिमकोट, खार्पुनाथ र ताँजाकोट गाउँपालिका हुम्ला, शे–फोक्सुण्डो गाउँपालिका डोल्पा, तिला गाउँपालिका जुम्ला, दुल्लु नगरपालिका दैलेख, दार्मा गाउँपालिका सल्यान पनि छनोटमा परेका छन् ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रम कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुने र त्यसबाट पूर्वाधार विकास, जलवायु परिर्वतन, फोहरमैला व्यवस्थापनलगायतको क्षेत्रमा काम गरिने बताइएको छ ।




Comments are closed.