काठमाडौं । दुई नगरबीचको सम्बन्धलाई थप उचाइमा पु¥याइ विविधताभित्र समानता खोजी पर्यटन र पर्यावरणीय सम्बन्धलाई बलियो बनाउन भगिनी सम्बन्ध आवश्यक रहेको बताइएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र जुम्लाको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले भेटका क्रममा आज सो कुरालाई जोड दिएका हुन् । भेटका क्रममा प्रमुख शाक्यले काठमाडौँमा धेरै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा रहेको र कर्णालीको दुर्गम नगरपालिका चन्दनाथबीच भगिनी सम्बन्ध स्थापना गर्ने कुरा आफैँमा सकारात्मक रहेको बताए।
महानगरपालिकाले विश्वका विभिन्न १६ नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । पाकिस्तानको इस्लामावाद र थाइल्याण्डको बैंकक प्रक्रियामा छन् । अन्तरराष्ट्रिय सम्बन्धसँग देशभित्रकै पालिकासँगको सम्बन्धको विषय जोड्दै प्रमुख शाक्यले सङ्घीयतालाई सार्थक र थप बलियो बनाउन अन्तरपालिका भगिनी सम्बन्धले टेवा पुग्ने अपेक्षा गरे ।

चन्दनथानका नगर प्रमुख सेजुवालले देशभित्रका नगरको सीप नक्कल गर्दा कार्यान्वयन योग्य हुने भन्दै सम्बन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्राङ्गरिक कृषि उत्पादनको बजारीकरण र व्यवस्थापनमा सहकार्य हुनेमा जोड दिए ।
भेटमा महानगरपालिका उपप्रमुख हरिप्रभा श्रेष्ठले आपसीहित, सीप र क्षमता विकासका लागि भगिनी सम्बन्ध लाभदायक हुने अपेक्षा गरिन् । महानगरको गत वर्ष (२०७६ पुस १७ गते) बसेको कार्यपालिका बैठकले चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको थियो ।




Comments are closed.