एकल पुरुषलाई ‘विदुर’ भत्ता

विजय रावत/खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । गाउँपालिकाभित्रका ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको हो । चालु आव २०७८÷७९ देखि विदुर भत्ता दिने निर्णय भइसकेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने, “एकल पुरुषलाई मासिक रु दुई हजार विदुर भत्ता दिने कार्यपालिको निर्णयसमेत गरिएको छ ।” गाउँपालिकाले विदुर भत्ताका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । “बजेट अपुग भएको खण्डमा निर्णय गरेर थप्नेछौँ”, उनले भने । गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन् । समाजमा एकल पुरुष पनि सहाराविहीन हुने गरेका छन् । सो भत्ताले थोरै भए पनि राहत दिने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए ।

गाउँपालिकाभित्र रहेका एकल पुरुषको तथ्याङ्क सङ्कलनको काम सुरु भएको छ । तथ्याङ्क गाउँपालिकामा आउने बित्तिकै विदुर भत्ता दिन सुरु हुनेछ । एकल पुरुषको तथ्याङ्क सङ्कलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अण्डा वितरण गर्दै आएको छ । हिमाली जिल्लामा ६० वर्षदेखि माथिका लाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले त्योभन्दा तल ४० वर्षभन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो ।

footwear zone

गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्तिको हितका लागि संवेदनशील रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याबारे अध्ययन गरेको थियो । समाजमा एक पुरुषको अवस्था पनि दयनीय भएकाले उनीहरुको अवस्थामा सुधार ल्याउन र जीवनयापनमा सहजता ल्याउनका लागि विदुर भत्ता दिने निष्कर्षमा पुगेको गाउँपालिको समाजिक शाखाले जनाएको छ ।

पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बूढाबूढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ । अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका छन् । एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।

 

You might also like

Comments are closed.