पोखरा । पोखराका ५ जना डाक्टर र ३ जना स्वास्थ्यकर्मीहरुको संयुक्त लगानीमा ‘खर्च्याङ हिल साइड रिट्रिट’ सञ्चालनमा आउने भएको छ । कास्कीको निर्मलपोखरीस्थित खर्च्याङमा रिट्रिट निर्माणाधीन छ । आगामी दसैं अगाडि सञ्चालनमा ल्याउने गरी रिट्रिट निर्माणको काम भइरहेको सञ्चालक डा. राजन शर्माले जानकारी दिए ।
२२ रोपनी जग्गामा रिट्रिट सञ्चालन हुनेछ । लगानीकर्ताहरुको ७ रोपनी जग्गा र १५ रोपनी जग्गा लिजमा लिएर रिट्रिट सञ्चालनमा ल्याउन लागिएको उनले बताए । रिट्रिटमा ८ वटा डिलक्स रुम हुनेछन् । ४० जना अट्ने गरी थप २० वटा टेन्टको सुविधा उपलब्ध हुनेछ । ८० जना क्षमताको रेष्टुरेन्ट र डाइनिङ हल पनि रिट्रिटमा तयार हुने शर्माले आर्थिक आवाजलाई जानकारी दिए । रिट्रिटमा स्विमिङ पुल, चिल्ड्रेन पार्क लगायतका संरचना तयार हुनेछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिट्रिट सञ्चालनमा ल्याउन लागिएको हो ।
रिट्रिटमा आउने पर्यटकले जंगल रिसोर्टको मज्जा पनि लिन पाउनेछन् । वरपर चारैतिर हरियाली जंगलको सुन्दरताले धेरै पर्यटकलाई आकर्षिक गर्ने लगानीकर्ताहरुको विश्वास छ । ‘रिट्रिटबाट पोखरा तथा हिमालयको सुन्दर दृश्यहरुको अवलोकन गर्न सकिनेछ,’ शर्माले भने ।

जीबजन्तु अवलोकन गर्न ‘मिनी जु’
रिट्रिटमा आउने पाहुनाले मिनी जुको मज्जा लिन सक्नेछन् । रिट्रिटको ४ रोपनी भन्दा बढी जग्गा मिनी जुका लागि छुट्याइएको छ । जहाँ कालिज, लौकाट, अष्ट्रिज, खरायो लगायतका घरमा पाल्न पाउने जनावर तथा पंक्षी पालिनेछ । ‘रिट्रिटमा आउने पर्यटकलाई मिनी जुले थप आकर्षिक गर्ने हामीले विश्वास लिएका छौं,’ शर्माले भने ।
अर्गानिक फार्म
रिट्रिट परिसरमै अर्गानिक फार्मसमेत रहनेछ । फार्मका लागि १३ रोपनी जग्गा छुट्याइएको छ । जहाँबाट रिट्रिटका लागि आवश्यक पर्ने अर्गानिक तरकारी, फलफुल लगायतका उत्पादन गरिनेछ ।
मनोरञ्जनसँगै क्लिनिकको सुविधा
परम्परागत अवधारणा भन्दा माथि उठेर रिट्रिट सञ्चालनमा ल्याउन लागिएको छ । जहाँ प्रत्येक शनिबार स्वास्थ्य प्याकेजको सुविधासमेत लिन सकिने शर्माले जानकारी दिए । रिट्रिटमा पोखरामा ख्याती प्राप्त डाक्टरहरुको टिमसमेत रहेकाले यो प्याकेजले धेरैलाई आकर्षण गर्ने अध्यक्ष डा. विष्णु ज्वारचनले बताए ।

‘पर्यटकले खेल्न, खान बस्नको सुविधासहित स्वास्थ्य सेवासमेत लिन पाउने गरी क्लिनिकको पनि विकास गर्ने तयारीमा छौं,’ उनले भने । जनरल फिजिसियन, गाइनोकोलोजिष्ट, सर्जन, मानसिक रोग विशेषज्ञ, प्याथोलोजिष्ट, रेडियोलोजिष्ट लगायतका चिकित्सकहरुले सेवा प्रदान गर्नेछन् । पर्यटक तथा पाहुनाको स्वास्थ्यप्रति सचेत रहँदै योगा सेन्टर, जुम्बा क्लब, जिम हल, मेडिटेसनको सुविधा पनि उपलब्ध गराउने शर्माले बताए । रिट्रिटमा पहिलो चरणमा करिब ५ करोड रुपैयाँ हुने बताइएको छ ।
१५ वर्षमा थप ३ वटा प्रोजेक्ट
खर्च्याङ हिलसाइड रिट्रिटका लगानीकर्ताहरुले अन्य प्रोजेक्टहरु पनि सञ्चालनमा ल्याउने भएका छन् । १५ वर्षभित्रमा थप ३ वटा प्रोजेक्ट सम्पन्न गर्ने तयारीमा आफूहरु रहेको शर्माले बताए । बेगनास, रुपा गाउँपालिका र पोखराको फेवा तालपारी रिसोर्ट बनाउने गरी योजना अगाडि बढाइएको छ ।




Comments are closed.