मिर्गाैला पीडितलाई समस्या

कृष्ण न्यौपाने, दमौली ।

नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण वृद्धिभएपछि जिल्लामा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । पहिलो चरणको निषेधाज्ञा वैशाख ३१ गतेसम्म गरिएको थियो । थप १५ दिन अर्थात् यहि जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बिसकेको छ ।

निषेधाज्ञाका कारण सार्वजनिक यातायात सञ्चालन नहुँदा मिर्गाैला पीडित भने समस्यामा परेका छन् । यातायात नचल्दा मिर्गौला पीडितले सवारीसाधन रिजर्भ गरेर डायलसिस गराउनुपर्ने बाध्यता छ । दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दैनिक ६३ जनाले डायलायसिस गराइरहेका छन् । निषेधाज्ञाका कारण टाढाका मिर्गौला पीडितलाई आउन समस्या भएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । “आफ्नै सवारीसाधन हुने त सहजै आइरहेको छन्, साधन नहुनेहरू गाडी खोजेरै भएपनि आएका छन्,” उनले भने, “गाडी रिजर्भ गरेर आउनुपर्दा उनीहरूलाई समस्या भएको छ ।”

footwear zone

केन्द्रमा जिल्लाका अतिरिक्त लमजुङका मिर्गौला पीडितले भने डायलासिस गराइरहेका छन् । लमजुङका १०/१२ जनाले यहाँ डायलासिस गराउँछन् । त्यसमध्ये केही मिर्गौला पीडितले भने दमौलीमै डेरा गरेर डायलासिस गराएका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

म्याग्दे गाउँपालिकाका एक मिर्गौला पीडितले सार्वजनिक सवारी नचल्दा गाडी खोजेर आउनुपर्ने बाध्यता रहेको गुनासो गरे । तनहुँको शुक्लागण्डकी नगरपालिकाले भने नगरवासीलाई मिर्गाैला डायलासिस गराउन लैजाने व्यवस्था मिलाएको छ । मिर्गौला रोगीका समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले आफ्ना दुई वटा गाडी निशुल्क उपलब्ध गराएको छ । उपप्रमुख सविता रसाईलीले चढ्दै आएको ग १ झ ८४९७ नम्बरको गाडी र नगरपालिकाको पुरानो हाल योजना अनुगमनका लागि प्रयोग गरिने ग १ झ २६७ नम्बरको सरकारी गाडीले डायलासिस गराउनलाई अस्पताल लैजान र ल्याउन मिर्गौलाका बिरामीलाई बोकेको छ ।

यी दुई सवारीले महामारीको अवधिभर दमौली र पोखरामा डायलासिस गराउन जाने बिरामीलाई बोक्ने उपप्रमुख रसाइलीले जानकारी दिए । सहज स्थिति नभईन्जेल मिर्गाैलाका बिरामीको डायलासिस गराउन अस्पताल पु¥याउने काममा नगरपालिकाकै गाडी प्रयोग हुने उहाँको भनाई छ । “यो महामारीको बेला मिर्गौलाका बिरामी डायलासिस गराउनबाट बञ्चित हुनुपर्दैन,” उनले भने, “बरु हामी हिँडेरै भएपनि जनताको सेवा गर्छौँ ।”

गत वर्ष पहिलो चरणको कोरोना फैलिएको बेला पनि शुक्लागण्डकी नगरपालिकाले मिर्गौलाका डायलासिस गराउने बिरामीलाई एक पटकको एक हजारका दरले दरले यातायात खर्च उपलब्ध गराएको थियो । गत वर्ष मिर्गौलाका बिरामीलाई डायलासिस गराउनलाई रु दुई लाख १८ हजार यातायात खर्च वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताए । यस वर्ष कोरोनाकै कारण आर्थिक स्रोतको अभाव भएपछि नगरपालिकाका दुई वटा सरकारी गाडी मिर्गौला पीडितको डायलासिस गराउन लैजाने र ल्याउने प्रायोजनमा प्रयोग गरिएको उनले जानकारी दिए । नगरपालिकाले यहाँका १२ वटै वडामा मिर्गौलाका बिरामीको तथ्याङ्क सङ्कलन गरेको छ । वडा कार्यालयमार्फत सङ्कलित तथ्याङ्क अनुसार बुधबारसम्म २१ मिर्गौलाका बिरामी सम्पर्कमा आएका छन् ।

You might also like

Comments are closed.