काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटमा उनिहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताको विषयमा छलफल भयो । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको योगदानको लागि धन्यवाद दिदै आगामी दिनमा लगानी थप विस्तार हुने विश्वास व्यक्त गरे ।
विश्वबैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरुमा पुर्याउदै आइरहेको सहयोग महत्वपुर्ण रहेको बताउदैं मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलाहरुसँग वृहत छलफल गरी प्रभावकारी बनाइने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ विश्व बैंकबाट प्राप्त सहयोगले ठूलो योगदान दिइरहेको छ । यसलाई प्रभावकारी बनाउन दीगो रोजगारीसंग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपुर्ति गर्ने तर्फ काम अगाडि बढाउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।
श्रम रोजगारी तथा सीप तालिमलाइ एकीकृत रुपमा संचालन गर्न स्थानीय तह मार्फत नमुना सेवा केन्द्रको संचालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने आफ्नो योजना रहेको बताउदै मन्त्री श्रेष्ठले उक्त परियोजनामा विश्व बैंकबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मन्त्रालयले राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको अवधारणा अघि सारेको बताउदै उनले विश्व बैंकबाट प्राविधिक सहायता प्राप्त हुने विश्वास व्यक्त गरे ।

बेरोजगार, गरीब र जोखिमपुर्ण अवस्थामा रहेका समुदायको उत्थानको लागि हाल संचालनमा रहेका विभिन्न सामाजिक सुरक्षा वा संरक्षण सम्बन्धि क्रियाकलापहरु एकीकृत रुपमा संचालन गर्ने योजना रहेको भन्दै मन्त्री श्रेष्ठले बिश्व बैंकसँग सहयोगको अपेक्षा गरिएको बताए । साथै उनले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमहरुलाइ एकत्रित रुपमा संचालन गर्ने तयारी गरिएको बताए । निर्देशक जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि आवश्यक नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए । विश्वबैंक नेपालको प्रमुख सहायता प्रदान गर्ने साझेदार संस्था हो ।




Comments are closed.