फस्टाउँदै किबीखेती

म्याग्दी । जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले छ रोपनी पाखोबारीमा किबीखेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म बारीमा खेती भएको थिएन् ।

“किबी लगाएपछि जङ्गली जनावरले पनि दुःख दिएका छैनन”, तिलिजाले भने, “कोदो–मकै लगाउँदाभन्दा आम्दानी पनि राम्रो भएको छ ।” कोदो लगाउँदा वर्षमा दुई क्विन्टल उत्पादन हुन्थ्योे । किबीका ७० मध्ये ५० वटा बोटले फल दिन्छन् ।

गत वर्ष प्रतिकिलो रु २५० का दरले ५०० किलोग्राम किबी बेचेको तिलिजाले बताए । यसपाली पनि गत वर्षकोभन्दा बढी किबी फलेको छ ।

footwear zone

चार रोपनी पाखोबारीमा लगाएको ५० वटा किबीका बोटबाट अन्नपूर्ण गाउँपालिका–८ राम्चेका भक्तबहादुर पुर्जाले गएको याममा ५०० किलोग्राम भन्दा बढी उत्पादन गरे । मकै, कोदो र आलुखेती गर्दा वर्षमा बढीमा रु २० हजार आम्दानी हुने उक्त क्षेत्रफलमा गरेको किबीबाट रु ७५ हजार कमाई भएको पुर्जा बताउछन् ।

“अरुले प्रतिकिलो रु ३०० भन्दा बढीमा बिक्री गर्छन् तर हामीले उपभोक्तालाई आकर्षित गर्न प्रतिकिलो डेढ सयमा बेच्यौँ”, पुर्जाले भने, “अन्नबालीको भन्दा किबीबाट धेरै बढी आम्दानी भयो ।”अनुकूल भूगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दीका कृषक पछिल्लो समय व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । म्याग्दीको राम्चे, बरञ्जा, दिच्याम, कुहुँ, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट, बाँसखर्क र शालीजा क्षेत्रमा केही वर्षयता किबीखेती बिस्तार भएको छ । बत्तीस वर्षअघि जापानबाट आएका स्वयंसेवकले धौलागिरि क्षेत्रमै पहिलो पटक राम्चेमा किबी भित्र्याएका थिए ।

स्वादिलो, धेरै पौष्टिक तत्व पाइने र स्वस्थ्यकर मानिने किबीको बजारमा माग र खपत बढेको छ । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेका अनुसार समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार मिटरको उचाइमा किबीखेती गर्न सकिन्छ ।

“भिटामिन सीलगायत पौष्टिक तत्व पाइने किबी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ”, उनले भने, “राम्रो भयो भने एकै रोपनीमा रु चार लाखसम्म आम्दानी गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ ।” अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलका रुपमा चिन्ने गरिएको छ । न्यूजील्याडले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा रु १०० छ । निजी नर्सरीबाट रु ३०० सम्ममा बिक्री हुन्छ ।

कृषि ज्ञान केन्द्रले गत वर्ष नमूना फार्म कार्यक्रममार्फत एउटा किबीको फार्म स्थापनाका लागि अनुदान दिएको थियो । यो वर्ष चार वटा किबी फार्म स्थापनाका लागि आवेदन परेको छ । सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताए ।

प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी एक रोपनीमा १५वटासम्म किबीका बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबीखेतीको मुख्य चुनौती हो ।

You might also like

Comments are closed.