काठमाडौंको । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गरेका छन् । शुक्रबार मेलास्थलमा पुगेर उनले जुत्ता चप्पलका स्टलहरुको अवलोकन गरेका हुन् । उक्त अवसरमा उनले स्वदेशी ब्राण्डका जुत्ता चप्पललाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका थिए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले मेलामा रहेका सबै स्टलहरुको प्रत्यक्ष अवलोकन गरेका थिए । उनले सबै जुत्ता मन परेको प्रतिक्रिया दिए ।
मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।

विशेष छुटसहित सस्तो मूल्यमा जुत्ता चप्पल खरिदको अवसर मिलेसँगै मेलामा जुत्ता चप्पल खरिद गर्नेहरुको आकर्षण देखिएको आयोजकको भनाइ छ । १० देखि ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल बिक्री भइरहेको आयोजक सबिन कार्कीले जानकारी दिए । ‘आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पल खरिदको अवसर मिलेपछि अवलोकनकर्ता तथा खरिदकर्ताहरुको आकर्षण दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘आगामी दिनमा ग्राहकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं ।’
छुटसँगै वारेन्टीको समेत व्यवस्था गरिएपछि ग्राहकहरु मेलाप्रति आकर्षित भएको आयोजक गंगा श्रेष्ठ बताउँछन् । ‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिलेको छ,’ उनले भने ।




Comments are closed.