पोखरा महानगरले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

पोखरा । पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित फलफूल तरकारी मूल्य शृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।

सोसम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन् । कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको संकलन केन्द्रमार्फत निःशुल्क ढुवानी गर्नेछ भने, उपभोक्ता केन्द्रित वडाहरूमा भने वितरणको काम गर्नेछ ।

ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रमअनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख धनराज आचार्यले बताए। कृषि एम्बुलेन्समार्फत कृषकहरूलाई आवश्यक पर्ने बीउसमेत वितरण गर्न सहज हुनेछ ।

footwear zone

एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहोरमा कमी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य, कृषकहरूलाई तरकारी बजारसम्म र्पुयाउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतालगायत फाइदा हुने पोखरा महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताए ।

तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा दैनिक जसो सञ्चालन गरिने यस सेवाले साना किसानहरूलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । एकपटकमा ३ टनभन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको उक्त एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजानेछ ।

You might also like

Comments are closed.