स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २१औं साधारणसभा तथा नयाँ कार्यसमितिका लागि निर्वाचन कार्यक्रम जेठ ३२ गते हुँदैछ । साधारणसभा तथा निर्वाचनसँगै संस्थाका बर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यको कार्यकाल सकिनेछ । कोभिड महामारी, आर्थिकमन्दीका बीच पनि आफ्नो कार्यकालमा इप्पानले उत्कृष्ट कार्य गर्न सफल भएको अध्यक्ष आचार्य बताउँछन् । हामीले आचार्यसँग कार्यकालमा भएका काम, ऊर्जामा निजी क्षेत्रको लगानी, सरकारी नीति लगायत विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौंः
इप्पान अध्यक्षको एक कार्यकाल पूरा गर्नुभएको छ । यो कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
इप्पानको कार्यकाल समग्रमा उत्कृष्ट भएको महसुस गरेको छु । हामीले प्रधानमन्त्रीबाट साधारणसभाको उद्घाटन गराएका थियौं त्यस्तै राष्ट्रपतिबाट हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गरायौं । इप्पानलाई सरकारी निकायका साथै सर्वसाधारणसँग चिनाउने काम भएका छन् । सरकारले ल्याउन खोजेका नीतिका बारेमा पनि हामीले सुझाव दिने काम गरेका छौं । कोभिडका कारण रोकिएका योजना सम्पन्न भएका छन् । विद्युत प्राधिकरणले लगाउने गरेको जरिवाना हटाउने देखि रुग्ण आयोजनाको ब्याज घटाउन पनि सफल भएका छौं । लामो समयसम्म शेयर बेचेर निस्कन नपाउने भन्ने अव्यवहारिक कुरालाई हटाउन निरन्तर दवाव दियौं अन्तत सफल पनि भएका छौं ।

कार्यसमितिबाट कस्तो साथ पाउनुभयो ?
मेरो कार्यकाल सफल हुनुमा मेरो टिमवर्क नै हो । मेरो कार्यसमितिका सबै साथीसहित आम ऊर्जा व्यवसायीको सकारात्मक साथ, सहयोग र सहकार्यबाट कार्यकाल सम्पन्न भएको छ । सबैलाई कामको बाडँफाँट गर्नुपर्छ भनेर उपाध्यक्ष, महासचिव, सचिव, सदस्य लगायत सबैलाई कार्य विभाजन गर्यौं । सबै मिलेर काम गर्नुपर्छ भन्ने परिपाटी बसाउन सफल भएका छौं । सँगै काम गर्ने र सँगसँगै अगाडि बढ्ने भन्ने मेरो सिद्धान्त छ । संस्थामा धेरै जनाको सहभागिता र आवद्धता पनि बढेको छ ।
नेपालमा विद्युत् खपतको अवस्था कस्तो छ ?
हाम्रो विद्युत् खपत कमजोर छ, यसलाई बढाउनुपर्ने देखिन्छ । करिब ६५ प्रतिशत परम्परागत ऊर्जामा आश्रित छौं । करिब १८÷१९ प्रतिशत फोसिल ऊर्जामा आश्रित छौं । विद्युत्मा करिब ५ प्रतिशत मात्र छ । हामीसँग अथाह सम्भावना छ । हाइड्रोसँगै सौर्य ऊर्जाको सम्भावना पनि राम्रो छ । विद्युत् खपत बढाउने गरी राज्यले नीति लिनुपर्छ ।
अहिले ऊर्जा उत्पादनको वर्तमान स्थिति कस्तो छ ?
करिब १० हजार मेगावाटले पीपीए पर्खेर बसेको अवस्था छ । ती मध्ये १५ सय मेगावाटको मात्र पीपीए भएको छ । सरकारले व्यापक रूपमा पीपीए खोल्नुपर्छ । हाल नेपालमा २ हजार ७ सय मेगावाट बिजुली मात्रै उत्पादन भएको छ । ३ हजार मेगावाट निर्माणाधिन अवस्थामा छन् । अबको १० वर्षमा यस क्षेत्रमा करिब ५० खर्ब लगानी पुग्छ । सबैभन्दा ठुलो लगानी भएको क्षेत्र यही हो र धेरै प्रतिफल दिने क्षेत्र पनि यही हो ।
ऊर्जामा लगानीका लागि कस्तो सम्भावना देख्नुहुन्छ ?
नेपालको पानी समृद्धीको खानी हो । समृद्ध नेपाल बनाउन जल उपयोग पहिलो आवश्यकता हो । यसलाई सहि उपयोग गर्न सकियो भने अथाह सम्भावना छ । विद्युत निर्यातको सम्भावना पनि धेरै छ । भारत, बंगलादेश लगायतका देशलाई विद्युत आवश्यकता छ, हामीसँग वस्तु छ । व्यापारको नियम पनि वस्तुको जहाँ आवश्यकता छ त्यहाँ पुग्नु हो । थोरै थोरै पठाउदै जान सकेमा धेरै जाने सम्भावना हुन्छ ।
सरकारी नीतिले ऊर्जामा लगानी गर्न कत्तिको समस्या छ ?

विद्युत् व्यापारमा निजी क्षेत्रले प्रवेश गर्न पाएको छैन । निजी क्षत्रेलाई प्रवेश दिने वित्तिकै विद्युत उत्पादनमा छलाङ आयो । त्यसैगरी व्यापारमा पनि आउँछ । राज्यले यो आवश्यकता पनि बुझ्नुपर्छ । विद्युत उत्पादन, खपत, वितरण लगायतका समस्या नीतिगत रुपमा समाधान गर्ने भनेको ऊर्जा मन्त्रालयले हो । ऊर्जा मन्त्रालयलाई एकद्वार प्रणलीमा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । सानो काम गर्न पनि महिनौं झुल्नुपर्छ । ३० वर्षपछि सरकारलाई नै बुझाउने आयोजना हुन् । मन्त्रालय तथा विभागहरुबीचमा पनि सामन्जस्यता छैन । एकले अर्कोलाई अप्ठ्यारो पार्ने गरेका पाइन्छ ।
विदेशी लगानीको सम्भावना कस्तो देख्नुहुन्छ ?
ठूला आयोजनालाई विदेशी लगानी पनि भित्र्याउन सकिन्छ । जुन आयोजनामा ठूलो धनरासी र प्रविधिको आवश्यकता पर्छ त्यस्ता आयोजनामा विदेशी लगानी ल्याउनुपर्छ । हामीले गर्नसक्ने काम हामीलाई दिनुपर्छ । जलविद्युतमा लगानीका लागि निजी क्षेत्र तयार छ ।




Comments are closed.