भक्तपुर । क्षमादेवी ग्रुपको लगानीमा क्षमादेवी कन्स्ट्रक्सन मार्ट सञ्चालनमा आउने भएको छ । भक्तपुरको पेप्सीकोलास्थित दिव्यस्वरी प्लानिङमा भदौ पहिलो साताबाट मार्ट सञ्चालनमा आउने ग्रुपले जनाएको छ ।
निर्माण क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण सेवा तथा सुविधा एउटै छानामुनीबाट प्रदान गर्ने लक्ष्यसहित कन्स्ट्रक्सन मार्टको स्थापना गरिएको प्रवन्धक निकेश भण्डारीले जानकारी दिए । ‘घर, भवन लगायत निर्माण क्षेत्रका अन्य संरचना बनाउँदा एउटै छानाबाट सबै सेवा प्राप्त हुनेछ । यो सेवाबाट सम्पूर्ण सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘निर्माणका लागि आवश्यक पर्ने सामान खरिद गर्न ठाउँ ठाउँमा पुग्नुपर्ने झन्झटको अन्त्य मार्टले गर्नेछ ।’
शिलान्यासदेखि फिनिसिङसम्मको कामको लागि आवश्यक सबै सामान मार्टमा प्राप्त हुने भण्डारीले जानकारी दिए । ढुंगा, गिट्टी, बालुवा, रड तथा डण्डी, सिमेन्ट, किलाकाँटी, टायल, मार्बल तथा हार्डवयरसँग सम्बन्धित सम्पूर्ण सामान मार्टमा उपलब्ध हुनेछ । झ्याल, ढोका तथा फर्निसिङका सामान, किचनवयर, कलर, पर्दा, लाइटहरु पनि .मार्टमा उपलब्ध हुनेछ ।

९ हजार स्क्वायर फिटमा बनेको सुविधा सम्पन्न भवनमा मार्ट सञ्चालन हुनेछ । मार्ट सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको ग्रुपका एचआर म्यानेजर मनोज पन्थीले जानकारी दिए । ‘निर्माण क्षेत्रका सम्पूर्ण आवश्यकताहरु एउटै छानाबाट हामीले सहज रुपमा प्रदान गर्नेछौं,’ उनले भने ।
क्षमादेवी ग्रुपको प्रधान कार्यालय भक्तपुरको कौशलटार ठिमीमा छ । ग्रुप अन्तर्गत क्षमादेवी बिल्डिङ प्रा.लि, क्षमादेवी आल्मुनियम प्रोफाइल प्रा.लि., क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रा.लि., क्षमादेवी इन्टेरियर प्रा.लि., क्षमादेवी लाइट हाउस प्रा.लि र क्षमादेवी इन्टरनेशनल संचालनमा छन् ।





Comments are closed.