म्याग्दीका क्याङ्गलो सार्कीको कथा : डोको बुनेरै बित्यो जवानी

ध्रुववसागर शर्मा, गलेश्वर । श्याम वर्णको हसिलो अनुहार, चिम्सा आँखा चम्काउँदै, दाहिने हातले झुस्स परेका दाह्री मुसार्दै ‘चाहिने जो’ को थेगोबाट कुराकानीको शुरुआत गर्ने म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका ५५ वर्षीय क्याङ्गलो सार्कीको अहिलेसम्मको जिन्दगी डोको बुनेरै धानिएको छ ।

बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म चोयासँग खेल्दै उनको समय बित्छ । सार्कीले ३५ वर्षअघि २० वर्षको उमेरदेखि बाँस र निगालाको चोयासँग खेलेर डोको बुन्दै जवानीका रमाइला दिनहरु बिताइसकेका छन् । आफूले बुनेका यिनै डोका बिक्री गरेर आएको पैसाले उनले छ जनाको परिवारको गुजारा चलाउँदै आएका छन् । उमेरले ५० औँ वसन्त पार गरिसकेका सार्कीले डोको बुनेर नै मासिक रु २० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । यही पैसाले आफ्ना छ/छ जना परिवारको पालनपोषण, शिक्षा दिक्षा र औषद्योपचार गर्दै आएको उनको भनाइ छ ।

उमेरले बुढ्यौलीलाई छुन लागेको भए पनि डोको बुन्ने कार्यमा भने उनको जोश र जाँगर जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उनलाई पत्तै हुँदैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर, उमेरको हिसाब गर्दा ५५ पो काट्न लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने ।

footwear zone

सार्कीले ३५ वर्ष अघिदेखि शुरु गरेको यो पेशालाई अहिलेसम्म पनि उत्तिकै जोशजाँगर मेहनतका साथ निरन्तरता दिँदै आएको छन् । उनको हातको सीप नै घरमै बसीबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ । अति विपन्न परिवारमा जन्मिएका सार्कीको डोको नबुनेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेर उनको परिवारको जीविका अहिले राम्रोसँग चलेको छ ।

पहिलेपहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गर्थे भने अहिले गाउँघरमा यी सामान बुन्ने मान्छे कमै मात्रामा भएपछि ग्राहक उनकै घरमा दिनहुँ आउने गरेको पाइन्छ । सार्कीले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहे गरिदिए । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा सार्कीले पनि डोको उत्पादनलाई नै सबैभन्दा बढी प्राथमिकता दिने गरेका छन् । खरिद गर्नेले पनि सबैभन्दा बढी डोको नै खोज्ने गरेको उनले बताए ।

दिनमा आठदेखि १० वटासम्म डोको बुनेर मासिक रु २० हजार जति आम्दानी हुने गरेको उनको भनाइ छ । एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनुपर्दैन भन्ने गतिलो उदाहरण सार्कीले गरेको पेशा बनेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताए । डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको सार्कीले बताए । “पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउने ?”, उनले भने ।

सार्कीले बुनेको डोको बलियो र धेरै समयसम्म टिकाउने हुने र टाढाटाढाबाट पनि डोको खरिदकै लागि ग्राहक आउने गरेको स्थानीयवासीले बताएका छन् । रासस

You might also like

Comments are closed.