राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सोमबारदेखि

काठमाडौं । स्वावलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन यही चैत २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २ सय वटा संस्थाबाट ६ सय सदस्य तथा संस्था प्रतिनिधिको सहभागिता रहने केन्द्रले जनाएको छ । सम्मेलनमा ७९ वटा लघुवित्त वित्तीय संस्था र १५० वटा सहकारी संस्थाले ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरिरहेकाहरू सहभागी हुने केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार लघुवित्त वित्तीय संस्थाले मात्रै रु चार खर्ब ३० अर्ब बढी कर्जा लगानीमा गरेका छन् । त्यसमध्ये रु तीन खर्ब ७१ अर्ब खुद्रा र रु ६९ अर्ब थोक कर्जा प्रदायक लघुवित्त संस्थाले लगानी गरेका छन् । विसं २०७५ सम्म २७ लाख मानिसले लघुवित्त सेवा प्राप्त गरेका थिए ।

footwear zone

पछिल्लो तीन वर्षको अवधिमा लघुवित्त सेवा प्राप्त गर्नेको सङ्ख्या शतप्रतिशतभन्दा धेरै बढेको पाइएको छ । करिब ५४ लाख ५० हजार महिला तथा एक लाख ५० हजार पुरुषले यो सेवा प्राप्त गरेका छन् ।

मुलुकभर चार हजार ९६५ शाखामार्फत २३ हजार २८१ लघुवित्तकर्मी लघुवित्त सेवामा संलग्न रहेको दाबी संस्थाको छ । ‘घर–घरमा उद्यम फैलाऊ, गरिबीलाई शून्य बनाऊ’ भन्ने मूल नारासहित तेस्रो सम्मेलनको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले भनाइ छ ।

आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अब सहभागी सदस्यलाई कार्यक्रमपश्चात स्वच्छ लघुवित्त अभियानमा सहभागी गराइ गाउँ–गाउँमा परिचालन गरिने छ । केन्द्रले समाजका विपन्न र पिछडिएको वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

केन्द्रले सामुदायिक विकास कार्यक्रमको माध्यमबाट मुलुकभरका दुर्गम तथा विकट जिल्लाका बासिन्दाहरूको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पु¥याउँदै आएको छ । यसका साथै बैंकिङ सुविधाबाट बञ्चित भई आफ्नो सीप परिचालन गर्ने अवसर पाउन नसकेका विपन्न परिवारका मानिस, खासगरी महिलालाई स्वावलम्बन बैंकिङ कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिनाधितो स–साना कर्जा सेवा उपलब्ध गराउँदै आएको छ ।

केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम बैंकलाई हस्तान्तरण गरिसकेको छ । गुणस्तरीय, माग आधारित र सुलभ मूल्यमा नेपालको लघुवित्त क्षेत्रलाई तालिम प्रदान गर्ने यस केन्द्रको मुख्य रणनीति रहेको छ । राष्ट्रियस्तरको यो सम्मेलनपछि बाँकी रहेका प्रदेशहरूमा पनि आयोजना गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

You might also like

Comments are closed.