लमजुङ । जिल्लामा विद्युतको ३ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत् उपभोक्ता संस्थाको रु दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको १ करोड बक्यौता उठ्न बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार पश्चिम विद्युत् उपभोक्ता समितिले २०७२ सालसम्म रु २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । “दुई पटक पत्राचार गरिसकेका छौँँ, बक्यौता तिर्न मानेको छैन”, उनले भनिन् ।
लमजुङ विद्युत् उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो । सो संस्थाले सुरुआतमा रु ३२ लाख, दोस्रो पटक रु २५ लाख तथा पछिल्लो समय रु सात बक्यौता तिरेको गुरुङले जानकारी दिइन् । विसं २०७२ मा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत् उपभोक्ता संस्थाले ३ करोड १२ लाख र पश्चिम विद्युत् उपभोक्ता समितिले २८ लाख बक्यौता तिर्न बाँकी थियो ।

जिल्लामा बिजुली उपभोक्ता समितिले वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ । तनहुँको साविकको चिसोपानी, रुपाकोट र पुरनकोटका दुई हजार ७०० परिवारले बिजुली प्रयोग गर्दै आएका छन् ।




Comments are closed.