अलैँची दाना बिक्रीबाट अभिलेख तोडियो लमजुङमा

जनक श्रेष्ठ/लमजुङ । अलैँचीको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङका किसानले अलैँची कारोवार गर्न थालेदेखि हालसम्मकै धेरै आम्दानी गरेका छन् । यसअघिको अधिकतम वार्षिक आम्दानी रु १३ करोडसम्म हुने गरेकामा यस वर्ष अलैँची बिक्रीबाट किसानले रु १८ करोड २० लाख आम्दानी गरेका छन् ।

जिल्लाका किसानले तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट सो रकम बराबरको आम्दानी गरेका हुन् । जिल्लामा विसं २०४१ बाट अलैँचीखेती विस्तार भएदेखि हालसम्मकै बढी उत्पादन तथा अलैँची दाना बिक्रीबाट उक्त रकम आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ अलैँची जोन सञ्चालक समिति लमजुङ संयोजक अजय तामाङले बताए । उनले भने, “करिब एक दशकअघि रु १३ करोडसम्म अलैँची दाना बिक्रीबाट आम्दानी गरेको थियो यसअघिसम्म उक्त रकम नै सबैभन्दा बढी आम्दानी भएको रेकर्ड रहँदै आए पनि यस वर्षबाट उक्त रेकर्ड तोडिएको छ ।”

किसानले यस वर्ष जिल्लामा प्रतिकिलो अलैँची दाना रु ५२० मा बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष एक हजार ५०० क्विन्टल अलैँची बढी उत्पादन भएको थियो भने रु छ करोड २० लाख बढी आम्दानी गरेको छ । यस वर्ष जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन गर्ने मस्र्याङ्दी गाउँपालिका–७ का छिनखोलाका ख्याबा लामाले ८५० क्विन्टल अलैँची उत्पादन गर्नुभएको छ । त्यस्तै सोही वडाका वीरबहादुर तामाङले ७५० क्विन्टल अलैँची उत्पादन गरेका थिए । सोही वडा लुदीका बलबहादुर तामाङले ६०० केजी तथा बेँसीशहर नगरपालिका–१० खाँचेका गुमबहादुर तामाङले ६०० केजी अलैँची दाना उत्पादन गर्न सफल भएको अलैँची महासङ्घ प्रदेशका अध्यक्ष तामाङको भनाइ छ ।

footwear zone

गत वर्ष जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यस्तै अघिल्लो वर्ष ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए । विसं २०७४ मा उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो । जिल्लामा हाल एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैँचीखेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेक्रफलमा मात्र उत्पादन हुँदै आएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा यस वर्ष जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन भएको उक्त समितिले जनाएको छ ।

केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका किसानले राम्रो आम्दानी गर्न नसकेपछि निरास बन्दै गएको बेला यस वर्ष राम्रो आम्दानी गरेपछि केही आशा जागेको किसान बताउँछन् । केही वर्षदेखि राम्रो आम्दानी गर्न नसकेका किसानले यस वर्ष उत्पादित क्षेत्र र उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको उनीहरुको भनाइ छ । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार २०० सम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् । अलैँची किसानले कम्तीमा पनि प्रतिकिलो रु एक हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची दाना बिक्री गर्न बाध्य हुँदै आएका छन् । अलैँची दानाको मूल्य घटे पनि किसानलाई घाटा भने नपर्ने र राम्रै आम्दानी भएको उक्त समितिले जनाएको छ । जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ ।

जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा गोलशाही तथा एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइँदै आएको छ ।

You might also like

Comments are closed.