रमेश लम्साल । अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व एक अर्ब २३ करोड नौ लाख ३० हजार ४ सय ४३ रुपैयाँले घटेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर जग्गाको कारोबारबाट छ अर्ब ७३ करोड २७ लाख ८० हजार ८ सय ७७ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत माघ मसान्तसम्म पाँच अर्ब ५० करोड १८ लाख ५० हजार ४ सय ३४ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण घर जग्गाको कारोबारमा मन्दी आएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले पनि घर जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रुपमा टिप्पणी गरेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले पनि केही समय पहिले घर जग्गाको कारोबारका बारेमा छ्ट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । विभागका अनुसार देशभर रहेका कूल १ सय २६ मालपोतमध्ये काठमाडौं उपत्यकामा रहेका नौ वटा मालपोत कार्यालयमा हुने घर जग्गाको कारोबारसम्बन्धी विवरण धेरै रहेको छ ।
गत माघमा देशभर भएका घर जग्गाको कारोबारबाट मात्रै एक अर्ब २६ करोड ५८ लाख ४४ हजार १ सय ३४ रुपैयाँ बराबरको लाभकर उठेको छ । विभागका अनुसार २०७७ माघमा त्यस्तो कर एक अर्ब ७० करोड ८४ लाख ४० हजार २ सय ७४ रुपैयाँ उठेको थियो । लाभकरसमेत घटेकाले कारोबारमा कमी आएको देखिन्छ ।
यस्तै, मालपोत कार्यालयले गत माघमा २० करोड १७ लाख ६६ हजार ४८ रुपैयाँ बराबरको सेवा कर उठाएको छ । त्यस्तो कर, २०७७ माघमा ३९ करोड ४३ लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबर उठाएको थियो । रजिष्ट्रेशन दस्तुरबाट गत माघमा तीन अर्ब ३१ करोड ८९ लाख ५० हजार ८ सय १७ बराबरको राजस्व उठाएको विभागले २०७७ माघमा तीन अर्ब ७६ करोड ८८ लाख ३१ हजार ९ सय ७० रुपैयाँ बराबरको राजस्व उठाएको थियो ।
काठमाडौं उपत्यकाका नौ मालपोत कार्यालयको विवरणमा पनि डिल्लीबजार मालपोत कार्यालयको मात्रै राजस्व सङ्कलनमा वृद्धि भएको छ । डिल्लीबजार मालपोत कार्यालयले २०७७ माघमा ३८ करोड ८४ लाख ७७ हजार ५ सय ८७ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो । गत माघमा सो कार्यालयले ४३ करोड ८६ लाख ७६ हजार ५ सय ३९ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको विवरणमा उल्लेख छ ।
चावहिल मालपोत कार्यालयले २०७७ माघमा ३३ करोड ७९ लाख ३४ हजार ५ सय ३९ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेकामा २०७८ को माघमा २९ करोड १८ लाख नौ हजार ५ सय ७६ रुपैयाँ मात्रै सङ्कलन भएको छ ।
कलङ्की मालपोत कार्यालयले २०७७ माघमा ४३ करोड ७६ लाख ६६ हजार ४ सय ८६ राजस्व सङ्कलन गरेकामा गत माघमा ३९ करोड १३ लाख ८७ हजार ९ सय ९३ रुपैयाँ सङ्कलन गरेको छ । साँखु मालपोत कार्यालयले २०७७ माघमा १३ करोड ३८ लाख ४० हजार ५ सय ८८ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेकामा गत माघमा १४ करोड ३४ लाख ४२ हजार ४ सय ४४ रुपैयाँ सङ्कलन गरेको छ ।
मनमैजु मालपोत कार्यालयले २०७७ माघमा १४ करोड ३२ लाख सात हजार ९ सय १ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा ११ करोड ४२ लाख ८३ हजार ३ सय ४ रुपैयाँ बराबरको आम्दानी गरेको छ । टोखा मालपोत कार्यालयले २०७७ माघमा १२ करोड ३३ लाख ७३ हजार २ सय ३६ रुपैयाँ राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा नौ करोड ४१ लाख २४ हजार ३ सय ५९ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ ।
ललितपुरमा दुई वटा मालपोत कार्यालय छन् । त्यसमा लगनखेल र गोटीखेल मालपोत कार्यालयले सङ्कलन गर्ने राजस्व समेत घटेको छ । लगनखेल मालपोत कार्यालयले २०७७ माघमा ६४ करोड ११ लाख ७५ हजार १ सय ८६ रुपैयाँ राजस्व सङ्कलन गर्दा गत माघमा घटेर ५४ करोड ३६ लाख ६० हजार ६८९ मा सीमित भएको छ ।
गोटीखेल मालपोत कार्यालयले २०७७ माघमा १३ लाख २२ हजार ४ सय १४ बराबरको राजस्व सङ्कलन गर्दा गत माघमा घटेर १० लाख तीन हजार ५ सय ६३ मा सीमित भएको छ । भक्तपुर मालपोतको पनि राजस्व सङ्कलनमा गिरावट आएको छ । यसबाट घर जग्गाको कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ ।
विवरण अनुसार २०७७ माघमा ४१ करोड २३ लाख ४२ हजार ९ सय ६१ राजस्व सङ्कलन गरेको झत्तपुर मालपोत कार्यालयले गत माघमा ३४ करोड ४५ लाख ४३ हजार ९ सय १२ मात्रै सङ्कलन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठका अनुसार जग्गा प्रशासन सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन पद्धतिबाट सेवा प्रदान गरिएकाले राजस्व सङ्कलन थप पारदर्शी बन्न थालेको छ ।
सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ । सो प्रणालीको प्रयोग गरेर बंैक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन् । कर्मचारी सञ्चय कोष र मालपोत कार्यालय कलङ्की र ललितपुरमा परीक्षणको रुपमा सो सेवा लागू गरिएको र अन्य कार्यालयमा समेत लागू गर्ने तयारी गरिएको छ ।




Comments are closed.