मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड ६ दिनदेखि अवरुद्ध

पर्वत । भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो ।

पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ ।

डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिइए पनि सेना समेत सफल हुनसकेको छैन । सेनाको पर्वतमा रहेको केवलजङ्ग गुल्मले म्याग्दीबाट विस्फोटक पदार्थ ल्याएर सोमबारदेखि विस्फोट गराएर पहिरो पन्छाउन थालेको छ । सोमबार दिउँसो र साँझ दुईपटक विष्फोट गराइएको भए पनि ढुङ्गा अझै नफुटेका कारण पन्छाउन नसकिएको हो ।

footwear zone

विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि खुलाउन सहज हुने भए पनि सफल हुन नसकिएको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । उनका अनुसार मंगलबार पनि दिनभर प्रयास गरिने भएको छ । अहिले यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षाले झनै समस्या भएको खड्काले बताए । वर्षा रोकिएपछि थप विस्फोट गराएपछि सम्भवतः आज साँझसम्म एकतर्फी सञ्चालनमा ल्याउन सकिने अनुमान प्रहरीको छ ।

दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङअन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि कामचलाउ वैकल्पिक सडकका रूपमा साना सवारी साधनले अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै आएका छन् भने ठूला सवारी गुड्न नसक्दा मालवाहक सवारी बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका छन् ।

You might also like

Comments are closed.