काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरालाई नियुक्त गरे पश्चात सोमबार एक कार्यक्रमका बीच बैंकले उनलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ भने बोहराले पदवहाली गरेका छन् । साउन २ गतेबाट लागु हुने गरी ४ बर्षको पदावधिका लागि बैंकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको हर्षोल्लासपूर्ण उपस्थिती रहेको थियो ।
नरेश सिंह बोहराले बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हॉसिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको कार्यकालमा बैंकको चुक्ता पूँजी २ अर्ब १० करोडबाट बृद्धि भएर ३ अर्ब.२८ करोड पुगेको छ । बैंकको निक्षेप २२ अर्ब ९६ करोडबाट बृद्धि भएर ४५ अर्ब १४ करोड पुगेको छ । बैंकको कर्जा लगानी २२ अर्ब.७५ करोडबाट बृद्धि भएर ४१ अर्ब १३ करोड पुगेको छ । उनको कार्यकालको ४ बर्षमा बैंकका शेयरधनीलाई कुल ६०.७५% लाभांस वितरण गरिएको छ । बैंकको निष्कृय कर्जा ३.३४% बाट घटेर १.६८% कायम भएको छ भने शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको छ ।

बोहराले भारतको अग्रणी इलाहबाद विश्वविद्यालयबाट बि.एस्सी र एम.बि.ए. सम्मको योग्यता उत्कृष्ट अंकका साथ पुरा गरेका छन् भने बिगत २५ बर्षदेखि नेपालको बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहि सफलताका साथ कार्य गर्दै आएका छन् । ब्यवस्थापन प्रशिक्षार्थीको रुपमा सन् १९९७ मा तत्कालिन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरी माछापुच्छ्रे बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाएका थिए ।
उनले तत्कालिन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालिन नारायणी नेशनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालिन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि कुशलता पूर्वक भूमिका निर्वाह गरेका थिए । उनको आगामी कार्यकालमा अझै उन्नति र प्रगति गर्ने विश्वास बैंकले लिएको छ ।




Comments are closed.