लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित लेखनाथ महोत्सवले अन्य मेला तथा महोत्सव भन्दा फरक तथा पृथक शैलीको झझल्को दिने गरेको छ । आयोजक लेखनाथ उद्योग वाणिज्य संघ भएपनि लेखनाथ बासीको वृहत एकताले महोत्सवलाई लेखनाथको साझा पर्वका रुपमा विकास गर्न हामी सफल भएका छौं । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि महोत्सव उत्साहपूर्ण रुपमा सञ्चालन भइरहेको छ । गत फागुन २६ गते सुरु भएको महोत्सवमा दर्शकहरुको उपस्थितिले हामी उत्साही भएका छौं । महोत्सवको बाँकी अवधि चैत ७ गतेसम्म पनि दर्शकको आकर्षण देखिने नै छ भन्नेमा हामी विश्वस्त छौं ।
महोत्सवलाई सफल बनाउन यहाँका सम्पूर्ण संघ–संस्थाहरुको साथ रहेको छ । महोत्सव सफल बनाउन संघसंस्था एवं आमा समूह परिचालन उपसमिति संयोजक भएर काम गरिरहँदा यहाँका आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता देख्दा निकै उत्साह मिलेको छ । यहाँका प्रत्येक जातजातिको संस्कृतिलाई पनि महोत्सवले प्रतिनिधित्व गर्न सफल छ । हरेक दिन फरक–फरक जातजातिको संस्कृतिलाई हामीले प्रदर्शन गर्न सफल भएका छौं । यहाँको पहिचान भनेकै विविधतामा एकता हो । प्रतिभाहरुको खोजी गर्ने थलो पनि महोत्सव बनेको छ ।
लेखनाथको समग्र विकासका लागि पनि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ । लगानीका सम्भावनाहरुको खोजी गरी लगानीमैत्री वातावरण निर्माणमा जोड दिदै उद्यमको विकास गर्नु पनि महोत्सवको प्रमुख उद्देश्य रहँदै आएको छ । उद्यम गर्न चाहने र सिप सिक्न चाहने युवाहरुलाई लक्षित गरी हामीले सिटिइभिटीसँग समन्वय गरी २ वटा स्टल राखेका छौं । स्टलमा गइ फारम भरेका युवाहरुलाई उहाँहरुको चाहना अनुसारको सिप सिकाउने तयारी संघले गरेको छ ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सोही अनुसार स्टलको व्यवस्था पनि गरेका छौं । महिला उद्यमशीलता विकास र महिला सशक्तीकरणमा महोत्सवले महत्वपूर्ण योगदान दिदै आएको छ । महिला जागरणमूलक अन्तरक्रिया, तालिमलगायत दिएर महिलालाई अगाडि बढाउन संघले भूमिका खेल्दै आएको छ । संघमा लागेर अनुभव प्राप्त गरेकाहरुले नेतृत्वदायी भूमिकासमेत खेल्ने मौका पाएका छन् । त्यतिमात्र होइन संघले नेतृत्व विकासमा पनि महत्वपूर्ण योगदान दिएको छ । नेतृत्व विकास सम्बन्धी तालिम दिने, सक्षमलाई जिम्मेवारी दिने, गर्छु भन्ने आँट र साहस भएकालाई अझ हौसला प्रदान गरेर अगाडि बढाउनुका साथै भ्रमणमा लगेर सिक्ने अवसरपनि प्रदान गर्दै आएको छ । कानुनी सचेतना, क्षमता अभिबृद्धिलगायतका कार्यक्रमपनि निरन्तर गरिरहेका छौं ।
संघले महिला उद्यमशीलता विकासका लागि पनि भूमिका खेल्दै आएको छ । आफ्नो रुची अनुसारको सीप र ज्ञान लिन चाहनेलाई संघले टोलटोलमै सीप विकास तालिम आयोजना गर्ने गरेको छ ।

संघले गर्ने यस्ता कार्यक्रममा महोत्सवको भूमिका छ । महोत्सवबाट प्राप्त रकमबाटै यसमा खर्च हुने भएकाले महोत्सव महत्वपूर्ण छ । त्यसैले महोत्सव लेखनाथ उद्योग वाणिज्य संघको मात्रै होइन, समग्र लेखनाथबासीको हो, पोखराबासीको हो । महोत्सव महिला दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा छोराछोरी एकै ठाउँमा भेट हुने, रमाइलो गर्ने, आत्मियता साट्ने थलो पनि बनेको छ । त्यसैले यसलाई सबैले मिलेर सफल बनाउनुपर्छ ।




Comments are closed.