लेखनाथ । विजयपुर खोलामाथि निर्मित पुलको दुरावस्थाप्रति लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरुको चिन्ता व्यक्त गरेका छन् । बृहत पोखराको मध्यभाग तथा मुख्य सहरी क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको उक्त पुलको अवस्थाप्रति उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व अध्यक्षहरुले विजयपुर खोलामाथि निर्मित प्ुल सामान्य पुलमात्र नभएर पोखराको ‘लाइफ लाइन’ समेत रहेको बताएका छन् ‘दैनिक हजारौं सवारी साधन आवतजावत हुने सो पुल बिग्रनसाथ यहाँको जनजीवन ठप्प हुन्छ । पर्यटकीय नगरी पोखराको परिचयसँग जोडिएको पुलकै कारण यात्रु तथा पर्यटकहरुले पाउने सास्तीले पोखराको व्यइज्जत गरिरहेको छ,’ उनीहरुले भनेका छन्, ‘आउँदो पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ । विमानस्थललाई हामीले समृद्धिको वाहक मानेका छौँ । तर, त्यही विमानस्थल पुग्ने सडक र पुलको दुरावस्थाले भने हामीलाई गिज्याएको छ । पर्यटकीय नगरी पोखराको शिर झुकाउने काम भएको छ ।’
विज्ञप्तिको पूर्ण पाठः
बृहत पोखराको मध्यभाग तथा मुख्य सहरी क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको विजयपुर खोलामाथि निर्मित पुलको दुरावस्थाप्रति हामी लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

२०३० सालतिर निर्मित स्टिलको पुल कामै नलाग्ने भएपछि २०७६ सालमा निर्मित बेली ब्रिज साँघुरो भएकै कारण घण्टौंसम्म ‘ट्राफिक जाम’ को समस्या हुने गरेको छ भने बढी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । अर्कोतर्फ ट्राफिक जामकै कारण समयमा गन्तव्यमा नपुगिने समस्या बढ्दै गएको छ । विजयपुर खोलामाथि निर्मित प्ुल सामान्य पुलमात्र नभएर पोखराको ‘लाइफ लाइन’ समेत हो । दैनिक हजारौं सवारी साधन आवतजावत हुने सो पुल बिग्रनसाथ यहाँको जनजीवन ठप्प हुन्छ । पर्यटकीय नगरी पोखराको परिचयसँग जोडिएको पुलकै कारण यात्रु तथा पर्यटकहरुले पाउने सास्तीले पोखराको व्यइज्जत गरिरहेको छ । आउँदो पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ । विमानस्थललाई हामीले समृद्धिको वाहक मानेका छौँ । तर, त्यही विमानस्थल पुग्ने सडक र पुलको दुरावस्थाले भने हामीलाई गिज्याएको छ । पर्यटकीय नगरी पोखराको शिर झुकाउने काम भएको छ ।
पोखराको चिनारी र आवश्यकतासँग जोडिएको विजयपुर खोलामाथि ४ लेनभन्दा फराकिलो पुलको आवश्यकता छ । पृथ्वी राजमार्ग निर्माण भएको यतिका वर्ष बित्दा तथा पोखराले बृहत स्वरुप ग्रहण गर्दा सामान्य पुल निर्माण नहुनुले हाम्रो विकासको गति झल्काएको छ । यो प्रवृत्तिको अन्त्य एवं विजयुरमाथि आधुनिक र फराकिलो पुल हाम्रो चाहना हो । अतः हामी लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु विजयपुर खोलामाथि आधुनिक र फराकिलो पुल निर्माणको लागि सरोकारवाला निकायहरुसँग जोडदार माग गर्दछौँ । विकास माग्न पनि आन्दोलन नै गर्नुपर्ने नियति पुलको मामिलामा नदोहोरियोस् । हामीलाई आन्दोलन गर्न बाध्य नपारियोस् । यसका साथै समृद्ध र बृहत पोखराको लागि अपरिहार्य पुल निर्माणका लागि निजी क्षेत्रको तर्फबाट हातेमालो गर्न तयार रहेको पनि जाहेर गर्दछौँ ।
धन्यवाद !
लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट
चन्द्रकृष्ण कर्माचार्यः संस्थापक अध्यक्ष
चतुराखर अधिकारीः पूर्वअध्यक्ष
बाबुराम जमरकट्टेलः पूर्वअध्यक्ष
सुमन भट्टराईः पूर्वअध्यक्ष
बाबुराम गिरीःपूर्वअध्यक्ष
लक्ष्मीप्रसाद त्रिपाठीःपूर्वअध्यक्ष
कृष्णहरि भण्डारीः पूर्वअध्यक्ष
बलराम ढकालः निवर्तमान अध्यक्ष
छत्रधर आत्रेयः अध्यक्ष




Comments are closed.