बेगनास ताल बुझ्न लेखनाथ महोत्सव

पोखरा । बेगनास तालको मुहान स्याङखुदीबाट कलकल पानी बगिरहेको छ। तालको मुहानको नजिकै बेगनास मौरीघार उद्योगको बोर्ड टाँसिएको छ। नजिकै मौरीका घार पनि छन् । तालमा डुङ्गाहरू तैरिएका देखिन्छन् । तालमा डुङ्गा शयर गर्न त बेगनास ताल नै पुग्नुपर्छ तर यी दृश्यलाई एकैसाथ नियाल्न र तालका बारेमा बुझन् भने हाल सञ्चालन भइरहेको लेखनाथ महोत्सव हेर्न गए पुग्छ ।

सात तालको सहरको उपमा पाएको लेखनाथको मुख्य ताल बेगनास र यहाँका गतिविधिलाई समेटेर आसपासका क्षेत्र हुने गरेका गतिवधिलाई नजिकैबाट बुझ्ने गरी बनाइएको दृश्य यतिखेर लेखनाथ महोत्सवको आकर्षण बनेको छ ।

तनहुँको शुक्लागण्डकीबाट महोत्सव हेर्न आएका जीवनाथ खनालले महोत्सवमा बनाइएको बेगनास तालको दृश्यले आफूलाई लोभ्याएको बताए। “म धेरै पटक बेगनास तालमा डुङ्गामा चढेर घुमेको छु”, उनले भने, “वास्तवमा ताल र आसपासको क्षेत्र यस्तो छ भन्ने कुरा पहिलो पटक यही महोत्सवमा आएर डेमो हेरेर जानकारी लिन पाएँ।”

footwear zone

बेगानास तालको मुहान स्याङखुदी रहेको जानकारी पनि पहिलो पटक पाएको बताउँदै उनले ताल वरपरका ठाउँकोसमेत जानकारी पाएको अनुभव सुनाए। लेखनाथको समृद्धिको महत्वपूर्ण आधार बेगनास भएकाले ताल र यहाँ हुने गतिविधिलाई समेटेर यो दृश्य तयार गरिएको अवधारणाकार एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व सदस्य विश्वगोपाल श्रेष्ठ बताउछन् ।

तालको मुहानदेखि यस आसपासका क्षेत्रलाई पनि जीवन्त जस्तै देखाउने प्रयास गरिएको बताउँदै उनले यी सबै दृश्य तयार गर्न आफूसहित १० जना व्यक्तिलाई करिब एक साता लागेको जानकारी दिए। बेगनास तालको दृश्यमा ताल र आसपासका स्थान तालको मुहान स्याङ्खुदीदेखि कपासे, बेगनास मौरी उद्योग, तालको सबैभन्दा गहिरो भाग रहेको कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्याम साइड आदिका स्थलगत दृश्य समेटिएको छ ।

त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यु टावर, काउरे, माझिकुना दृश्यमा समेटिएको छ। बेगनासतालमा पछिल्लो समयमा आकर्षक गन्तव्य बन्दै गएको माझीकुना, मलादी, ठूलो सालको रुख, बराह क्षेत्र, राते टूडो, सुमिको रुखआदि दृश्यसँगै ठाउँ ठाउँमा घर तथा बस्तीले यहाँको सम्भाव्य विकासको अवस्थालाई पनि चित्रण गरिएको छ। तालमा जलविहारका लागि व्यवस्था गर्न सकिने क्रुज, तालको वरपर निर्माण गर्न सकिने फुटट्र्याक आदि पनि समेट्ने प्रयास गरिएको छ।

“यी दृश्यले बेगनासताललाई जीवन्त रुपमा चिनाउन मद्दत गर्नेछन्, यो हेरिसकेपछि बेगनासको समग्र विकासका लागि पनि व्यक्ति व्यक्तिमा विभिन्न अवधारणको समेत विकास हुने अपेक्षा गरिएको छ”, श्रेष्ठले भने, “लेखनाथ क्षेत्रको समृद्धि बेगनासबाटै सुरु गर्न सकिन्छ।”

लेखनाथको विकासका लागि बेगनास तालको संरक्षणसँगै यसको उपयोग हुनु जरुरी रहेको बताउँदै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले महोत्सवस्थलमा गरिएको बेगनास तालको डेमो प्रदर्शनीले आगामी दिनमा यसको संरक्षण र विकासका लागि थप सहयोग हुने बताए।

लेखनाथ महोत्सव केबल व्यापार व्यवसायको प्रवर्द्धन मात्रै नभएर लेखनाथको समृद्धि र विकासका लागि महत्वपूर्ण माध्यम पनि बनोस् भन्ने आँफूहरूको योजना रहेको उनले बताए। महोत्सवस्थलमा बेगनास तालको प्रदर्शनी यहाँ आउने जोकोहीले दर्शकले रुचिका साथ हेर्ने गरेको लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेलले बताए । रासस

You might also like

Comments are closed.