लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ स्थापनाको झण्डै ३ दशक पुगिसकेको छ । यो अवधिमा पहिलो पटक संघको पदाधिकारी बन्ने अवसर प्राप्त गरिन् महिला उद्यमी जानुका पराजुली अधिकारीले । संघको अघिल्लो कार्यकालमा कोषाध्यक्ष भएर उनले जिम्मेवारी बहन गरिन् । बर्तमान कार्यकालमा उनले उपमहासचिवको जिम्मेवारी बहन गरिरहेकी छन् । कार्यसमिति सदस्य भएरसमेत काम गरेको अनुभव जानुकासँग छ ।
उनले संघको आसन्न निर्वाचनमा महासचिवको उम्मेदवार बन्ने घोषणा गरिसकेकी छन् । संघमा कार्यसमिति सदस्य, कोषाध्यक्ष र उपमहासचिव भएर काम गरेको अनुभवबाट आफू महासचिवको उम्मेदवार बन्न योग्य रहेको बताउँछिन् उनी । ‘म क्रमसँगै संघमा अगाडि बढेको छु,’ उनले भनिन्, ‘अब महासचिव भएर संस्थाको विकासमा थप योगदान पुर्याउने चाहना छ ।’
संघले आयोजना गर्ने लेखनाथ महोत्सवमा महिला परिचालनमा उनको भूमिका अग्रणी रहँदै आएको छ । संघका हरेक गतिविधिमा सक्रियताका साथ अगाडि बढ्दै आइरहेकी जानुकाले महासचिव भएर संघको सचिवालयलाई थप व्यवस्थित गर्ने र संघलाई आधुनिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएकी छन् ।

संघमा आबद्ध उद्योगी, व्यवसायीहरुको माया प्राप्त हुनेमा विश्वस्त रहेको जानुका बताउँछिन् । ‘मैले आफ्नो व्यक्तिगत व्यापार व्यवसायलाई भन्दा संघको कामलाई प्राथमिकता दिदै आइरहेकी छु । आगामी दिनमा पनि यो सक्रियता अझै बढ्नेछ,’ उनले भनिन् ।




Comments are closed.