काठमाडौं । लेखनाथ उद्योग वाणिज्य संघले सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । उत्पादन मुलक उद्योग, पर्यटन उद्योग, स्वास्थ्य तथा शैक्षिक संघ संस्थासँग आवद्ध संंचालक तथा व्यवस्थापकहरुका लागि संघले बुधवार उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक एवं सहप्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोषका नीति नियम तथा प्रावधान र यसको महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । साथै रेग्मीले सहभागीहरुले राखेका जिज्ञासामाथि प्रस्ट पारेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं व्यावसायिक ज्ञान तथा सिप विकास उपसमितिका संयोजक विक्रम कर्माचार्यको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारीलगायत यस क्षेत्रका उद्योग प्रतिष्ठान, शैक्षिक संस्थान, सहकारी तथा संघसंस्थामा आवद्ध प्रमुख तथा संचालकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले रोजगार दाता र श्रमिकबीचको सम्बन्ध विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सरकारसँग मिलेर कार्य गर्ने बताए । साथै उनले यस क्षेत्रको विद्यमान श्रम ऐन, सामाजिक सुरक्षा ऐन नियमावलीमा भएका व्यवस्था बमोजिमका सुविधाका बारेमा पनि जानकारी गराएका थिए ।
त्यस्तै, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उद्योगीबीच रहेको दुविधाका बिचमा सामाजिक सुरक्षा बारेमा जानकारी प्राप्त भएको र सामाजिक सुरक्षा कोषलाई त्रिपक्षीय श्रमिक, रोजगारदाता र सरकार पक्षबाट व्यवस्थापन गर्दै लैजानुपर्ने धारणा राखे ।कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले गरेका थिए ।




Comments are closed.