व्यावसायिक कागती खेतीतर्फ बढ्यो आकर्षण

झिमरुक । प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाएका छन् । छोरा भरतको आर्थिक लगानी र सहयोगमा उनले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका हुन् । विसं २०७२ मा ४०० बिरुवाबाट कागती खेती शुरु गरेको उनि बताउछन् । पछिल्ला वर्षमा कागतीका बोट वृद्धि गर्दै हाल साना–ठूला गरेर एक हजार कागतीका बिरुवा आफ्नो बारीमा रहेकोे उनले बताए । आफ्नै करिब ४० रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएछन् “यत्तिकै बस्यो भने अनेकन रोग लागेर बिरामी भइन्छ, मेहेनत गर्यो भने परिश्रमको फल मिठो हुन्छ”, उनले भने, “परिश्रमी बन्न कागती खेती गर्दै आएको हूँ ।”

तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट ४०० बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि उनले कागती खेती शुरु गर्नुभएको हो । त्यसपछि ऐरावती गाउँपालिका कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा ६०० बिरुवा थपी एक हजार बिरुवा पुर्याएको उनले बताए । एक हजार बिरुवामध्ये हाल ६०० बिरुवाले फल दिइरहेको र अन्य बिरुवा फल्ने अवस्थामा रहेको उनले बताए । लामो समयसम्म गाउँमै तरकारी खेती गरेका डोरबहादुरले तरकारी खेतीलाई समय दिन नसकेपछि कागती खेती शुरु गरेको बताए । अघिल्लो वर्षमा रु ३५ हजार बराबरको कागती बेच्न सफल भएको उनले बताए । कागती गाउँघरसँगै बजार क्षेत्र बिजुवारमा पुर्याएरसमेत बेच्ने गरेको उनले बताए ।

करिब रु तीन लाख लगानीमा कागती खेती गरिएको उहाँले बताउछन् । यस वर्षमा भने कागती बोटबाट झरेर घाटा भएको डोरबहादुरका छोरा भरतले बताए । उनका अनुसार करिब चार क्विन्टल कागतीका दाना झरेर खेर गएको छ । वैशाखदेखि यता दुई क्विन्टल कागतीका दाना बेचेको उनले बताए ।

footwear zone

जिल्लाको स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकीले पनि व्यावसायिक कागती खेती गर्दै आएका छन् । उनले माण्डवी गाउँपालिका–३ साजपानीमा चार वर्षदेखि कागती खेती गर्दै आएका हुन्। एकचालीस वर्षीय कालाथोकीले ३४ रोपनी जग्गामध्ये आधा क्षेत्रफलमा ३५० कागतीका बिरुवा लगाएका छन् । उनले लगाएकामध्ये केही कागतीले यस वर्षदेखि फलसमेत दिन शुरु गरेका छन् । कागती खेतीबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यसहित कागतीका बिरुवा एक हजार लगाउने लक्ष्य कालाथोकीको रहेको छ । त्यस्तै कागती लगाएर बचेको बाँकी जमिनमा हलेदो, अदुवा लगाएको र दालचिनी लगाउने उनको योजना छ ।

स्वदेशमै केही गर्नपर्छ भन्ने उद्देश्यले कागती खेती गरेको र यसले प्रतिफल पनि राम्रो दिने आशा गरेको उनले बताए । कागती खेती गर्नका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको थियो । वर्षमा एकपटक मलजल गरेर पुग्ने कागती खेती अन्य खेतीको तुलनामा सजिलो खेती हो । गाउँपालिकामार्फत एक घर एक धारा निर्माणको अभियानले सिँचाइका लागि एक धारा निर्माण गरिदिएपछि थप सहजता प्रदान गरेको छ । आगामी दिनमा कागती सिँचाइका लागि प्लाष्टिक पोखरी निर्माण गरी पानी सङ्कलन गर्ने योजना बनाएको समेत उनले बताए ।

यस स्थानमा जग्गा खरिद र कागती खेतीसँगै अन्य कामका लागि करिब रु ५० लाख खर्च भइसकेको कालाथोकीले बताए । सडकदेखि टाढा रहेकाले उनले कागती खेतीसम्म पुग्नका लागि आफ्नै लगानीमा करिब ५०० मिटर सडकसमेत निर्माण गरेका छन् । आफूसँगै कागती खेतीको रेखदेख र स्याहारसुसारका लागि एक कर्मचारीसमेत राखेका छन् ।

त्यस्तै ऐरावती गाउँपालिका–२ हारबुङका कमलसिंह गुरुङले पनि कागती खेती गर्दै आएका छन् । गुरुङले करिब सात रोपनी जग्गामा साना ठूला गरेर ४०० कागतीका बिरुवा लगाउनुभएको छ । विसं २०६४ देखि ५० बोटबाट कागती खेती शुरु गरेको गुरुङले बताए । उनका अनुसार हाल ५० बोट फल्ने गरेका छन् भने अन्य केही बोट अर्को वर्षदेखि फल्नेछन् । कबुलियती वनको अनुदान र आफैँ कलमे बनाएर कागतीका बिरुवा लगाएको उनले बताए ।

गत वर्ष चार क्विन्टल कागतीका दाना र ८० लिटर रस बेचे पनि यस वर्ष असिनाले दाना झार्दा आम्दानी घटेको उनले बताए । गुरुङले कागतीको नर्सरीसमेत राखेका छन् । उनको नर्सरीमा दुई हजार कागतीका बिरुवा छन् । कागतीसँगै गुरुङ परिवारले ५०० बोट टिमुर, ६५ बोट मौसम, ४५ बोट कफीसमेत लगाएको छ ।

जिल्लामा परम्परागतरूपमा गरिँदै आएको कागती खेतीलाई पछिल्लो समय व्यावसायीकरण गरिएको छ । जिल्लाको ऐरावती गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका, नौबहिनी गाउँपालिकाका केही क्षेत्रका किसानले पछिल्लो समय व्यावसायिकरूपमा कागती खेती गर्दै आएका छन् ।

You might also like

Comments are closed.