पोखरा । अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रिय संघद्वारा अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित कार्यक्रममा पर्वतको लेस्पारलाई पदयात्रा पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
संघद्वारा पर्वतको मोदी गाउँपालिका वडा नं ४ स्थित लेस्पारमा आयोजित कार्यक्रममा वक्ताहरूले धेरै सम्भावना भएर पनि ओझेलमा परेको लेस्पार पदयात्रा पर्यटनका दृष्टिले आकर्षक गन्तव्य भएको भन्दै यसको प्रवद्र्धन आवश्यक भएको बताए ।
मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले लेस्पार पदयात्रा पर्यटनका दृष्टिले धेरै सम्भावना भएको बताउँदै यसको प्रवद्र्धन र विकासका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताइन् । गाउँपालिकाले यहाँको विकासलाई प्राथमिकतामा राखेको उनले बताइन् । टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेलले लेस्पारको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि नै यस वर्षको अन्नपूर्ण आरोहण दिवस यस गाउँमा मनाइएको बताए ।

पदयात्रा पर्यटनसँग गाउँलाई जोड्नसके स्थानीयको आर्थिक समृद्धि बढ्ने बताउँदै उनले स्थानीयलाई उत्पादनसँग पनि जोड्नुपर्ने उल्लेख गरे । पर्यटन कार्यालय पोखराका प्रमुख थमनसिंह गौतमले पर्यटन प्रवद्र्धनसँगै स्थानीयलाई उत्पादनसँग जोड्दै रोजगारी अभिबृद्धि गर्नुपर्नेमा जोड दिए । संघका पूर्व अध्यक्ष रामचन्द्र शर्माले पदयात्रामार्गसँग जोडिएको लेस्पारले धेरै सम्भावना बोकेको बताए ।
कार्यक्रम संयोजक एवम् टान पश्चिमाञ्चल क्षेत्रीय संघका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले लेस्पारको पर्यटकीय सम्भावनाको प्रवद्र्धनका लागि अन्नपूर्ण डे यसै ठाउँमा मनाइएको बताए ।
संघका सहसचिव रेशम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा लेस्पार सामुदायिक होमस्टेका सचिव नरसिंह पुन, समाजसेवी टिका पुनलगायतले लेस्पारको पर्यटकीय सम्भावनाबारे चर्चा गर्दै यसलाई पदयात्रासँग जोड्नुपर्ने बताए ।




Comments are closed.