गुर्जा गाउँमा विद्युत् सेवा अवरुद्ध

म्याग्दी । बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा गाउँ अन्धकार बनेको छ । यही असोज १८ देखि २२ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढीले ३५ किलोवाट क्षमताको इङलेखोला लघुजलविद्युत् परियोजनाको नहर बगाएको हो ।

मुहानमा करिब १५ मिटर नहर बाढीले बगाएपछि परियोजना बन्द हुँदा गुर्जा गाउँ अन्धकार बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।परियोजना बन्द हुँदा दुई सय ५० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । मोबाइल फोन सेवासमेत अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ ।

झरीसँगै गुर्जा आसपासका डाँडामा हिमपात भएर सेताम्मे बनेको वडाध्यक्ष छन्त्यालले बताए । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बाहुल्य बसोबास रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम बस्ती हो । हालसम्म सडक यातायातको सुविधा नभएको गुर्जा पुग्न छिमेकी गाउँ लुलाङबाट पूरै दिन पैदलयात्रा गर्नुपर्छ ।

footwear zone

विद्यालय भवन भत्कियो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिराले विद्यालयको भवन भत्किएको छ । लुलाङ आधारभूत विद्यालयको दुईकोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिराले भवनको छानो र पर्खाल भत्किएको जानकारी दिए । “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट करिब रु ३६ लाखको लागतमा हालै भवन बनाएका थियौँ”, उनले भने, “भवन भत्किँदा पठनपाठनका लागि कक्षा कोठाको अभाव भएको छ ।”

सो भवनमा कक्षा ३ र ८ का विद्यार्थी राखेर पढाउने गरिएको थियो । दुईवटै कोठा बस्नै नमिल्ने गरी भत्किएको छ । दलित समुदायको बाहुल्य बसोबास रहेको लुलाङमा अवस्थित सो विद्यालयमा दुई सय २६ जना विद्यार्थी छन् ।

चौरमा राखेर पढाउनुपर्ने समस्या भएपछि गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन बनाइएको थियो । नयाँ भवन भत्किँदा विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता बढेको प्रअ ठाकुरले बताए ।

यसैगरी बर्सातका कारण रघुगङ्गा गाउँपालिका–३ फूलबारीमा एकवटा घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर भत्किएको वडा सदस्य जीतबहादुर खत्रीले जानकारी दिए ।

You might also like

Comments are closed.