मध्यपहाडी लोकमार्ग : बागलुङ खण्डको हट्यो बन्द    

खेमराज गौतम÷गलकोट ।   चट्टान कटानका लागि २० दिनदेखि जारी मध्यपहाडी लोकमार्गको बन्द आजदेखि हटेको छ । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि कामले तीब्र्रता पाएको छ ।

मङ्सिर २५ गतेदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत उपल्लाचौर अछेते बिहुँ घोडाबाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरे भीर कटानका लागि दैनिक छ घण्टा सडक बन्द गरिएको थियो । सो खण्डमा हुँदै आएको दैनिक छ घण्टा सडक बन्द खुले पनि चट्टान कटानको काम भने निरन्तर चलिरहने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि २५ गतेदेखि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरिएको थियो । आजदेखि लोकमार्गको अवरोध हटे पनि केही चट्टानको काम बाँकी रहेकाले लामो समय सवारी आवागमनमा बाधा नपर्ने गरी काम गर्न भनेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

footwear zone

लोकमार्गको खहरेमा बिहान ७ बजेदेखि ९ बजे सम्म र दिउँसो ११ बजे देखि ३ बजेसम्म गरी दैनिक छ घण्टा बन्द गरेर चट्टान कटान भइरहेको थियो । चट्टान कडा भएका कारण २० दिनमा नसकिएकाले कामलाई निरन्तरता दिए पनि सवारी आवतजावत गर्न दिइने मध्यपहाडी पुष्पलाल लोकमार्गका इन्जिनीयर उज्ज्वल शर्माले बताए । सवारी साधन कम गुड्ने समयमा चट्टान काट्ने गरी समन्वय भइरहेको शर्माको भनाइ छ ।

बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय उपलव्ध गराइएको थियो । ठेकेदारले काममा ढिलाइ भएकामा आत्मालोचना गर्दै अबको छ महिनाभित्रै सो खण्ड कालोपत्रे गर्ने गरी कामलाई तीब्रता दिएको छ ।

 

You might also like

Comments are closed.