मस्र्याङ्दी घट्ने आशमा मनाङवासीको दिन कट्दै

नवीन लामिछाने/मनाङ । मनाङमा गत जेठ अन्तिममा ठूलो वर्षा भयो । वर्षापछि जिल्लावासी एकै ठाउँमा कोचिएर बस्नुपर्ने बाध्यता आयो । एउटै कोठामा ४५ जनासम्म । बाढी र पहिरामा परेपछि घरबाट जे–जति खानेकुरा ल्याउन भ्याएका छन्, त्यही बाँडीचुँडी खान बाध्य छन्, उनीहरू ।

कोभिड–१९ को जोखिमको समयमा यी ४५ जनाको एउटै मेसमा बस्नुपर्ने बाध्यता छ, जहाँ सबैका लागि एकैचोटी खाना पाक्छ । घरबाट ल्याएको खानेकुरा सकिँदैछ । फेरि घर गएर ल्याउने अवस्था छैन, गइहाल्यो भने पनि फर्केर आउने केही टुङ्गो नै छैन । मनाङका बाढी प्रभावितलाई बस्ने र खानेकुराभन्दा बढी समस्या अहिले खानेपानीको छ । “मनाङवासी आकाशे पानीको भरमा जीवनयापन गरिरहेका छन्”, सदरमुकाम चामेस्थित नवनिर्मित कारागार भवनमा बसेकी मालती घलेले भन्नुभयो, “खानेपानीको समस्या छ, तिर्खा लाग्यो भने आकाशको पानी भरेर खान्छौँ, खानेकुरा पनि सकिँदैछ । अब के खाने, कसरी जोहो गर्ने केही थाहा छैन ।”

लगातार चार दिन परेको पानीले जेठ दोस्रो साता तिमाङ छहराको पुल बगायो, जसले मनाङमा आवतजावत बन्द भयो । ठेकेदारले भर्खरै निर्माण सम्पन्न भएको यो भवन हस्तान्तरण गर्न बाँकी भएकाले सञ्चालनमा आएको थिएन । यही भवन अहिले चामेका बाढी पीडितलाई राख्नमा सदुपयोग भएको छ । यस भवनमा करिब ३०० जना बसेका छन्, भवनको एउटा कोठामा ४५ जनासँगै कोच्चिएर मालती पनि बस्न बाध्य भएकी छन् ।

footwear zone

चामेको घट्टेखोला र च्याट्टेखोलाको बाढीले १० घर पूर्णरूपमा क्षति भएको छ । त्यस क्षेत्रका कयौँ मानिस विस्थापित भइसकेका छन् । अरु बेला सानो कुलोजस्तो देखिने यी दुई खोलाले अहिले चामे बजारलाई तहसनहस बनाएको छ । कारागारमा बसेका केही स्थानीयवासी घर जान चाहन्छन् तर उनीहरु गइहाले पनि फेरि फर्किन सक्ने अवस्था छैन ।

बाढीले मनाङमा मात्रै एक हजार बढी मानिस विस्थापित भएका छन् । चामेको कारागार भवनमा नअटाएका विस्थापितलाई त्यही वरिपरि टेन्ट टाँगेर राखिएको छ । सेनाको हेलिकप्टरबाट उद्धार गरिएका जोखिम क्षेत्रका प्रभावितलाई पनि चामेमै राखिएको छ । कोही आफन्तको घरतिर लागेका छन् भने कोही जङ्गल छेउछाउमा टेन्टमै बस्न बाध्य छन् । टेन्टमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला पनि रहेका छन् । जिल्लाको चिसोमा उनीहरूको जीवनयापन थप कष्टकर बन्दै गएको छ । उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको मालतीले बताइन् । “नियमित औषधि खानुपर्ने बाबाआमाको औषधि पनि सकिन लागेको छ, दीर्घरोगीका लागि राहतसँगै औषधि ल्याइदिए अझै उपयुक्त हुने थियो”, उनले भनिन् ।

सरकारले बाढी प्रभावितका लागि राहत र उद्धारमा पर्याप्त काम नगरेको उनको गुनासो छ । सेनाको हेलिकप्टरबाट बाढी पीडितको उद्धार भए पनि खानेकुराको समस्या भएको उनको भनाइ छ । हेलिकप्टरबाट कम राहत आउँदा अभाव खड्किएको उनले बताइन् । कारागार भवनमै बसेका चामेका बाढीपीडित पासाङ गुरुङले जीवनमै सबैभन्दा अप्ठ्यारो परिस्थिति आएको बताए । “यस्तो होला भनेर हामीले कल्पना पनि गरेका थिएनौँ”, उनले भने ।

गाउँ नै पूरै डुबेको मनाङ प्रवेशद्वार तालका बाढीपीडितको अवस्था पनि उस्तै छ । गाउँमा रहेका ६५ घर पुरै डुबेका छन् भने स्थानीयवासी रातारात मस्र्याङ्दी वारी तालडाँडा र घेराङ गाउँको शरणमा पुगेका छन् । ताल गाउँका विस्थापितलाई पनि खाद्यान्न अभाव भएको छ । तालका ३०० विस्थापित भएका छन् । मीनकाशी गुरुङले भनिन्, “हाम्रो गाउँका सबै घरका सामान बाढीले बगायो, अहिले पनि घर सबै मस्र्याङ्दीले डुबाएको छ ।” असार १ गते नै राति घरघरमा पानी आएपछि उनीहरू भागेर तालडाँडा पुगेका थिए । तालडाँडामा एउटा मात्रै रेष्टुराँ छ, त्यहीँ बसेर उनीहरूले पहिलो रात काटेका थिए ।

बाढीले पूरै डुबान भएपछि जङ्गल, डाँडा र ओडारमा बास बसेर ज्यान जोगाएको तालकी स्थानीय सीता गुरुङले बताइन् । “गाउँतिर फर्केर हेर्दा मन भकानिन्छ, माथिबाट यति ठूलो बाढी आउँछ भनेर कल्पनासमेत गरेका थिएनौँ, एक्कासि बाढीले घर डुबायो र घरबारविहीन बनायो, जेनतेन ज्यान बचाउन सकियो, कहिले मस्र्याङ्दीमा पानी घट्ला र घर गएर केही सामान खोजेर ल्याउँजस्तो हुन्छ, नदीमा हे¥यो, पानी घटेकै देखिँदैन”, उनले भनिन् ।

तालका बाढीपीडितलाई पनि खान र बस्नको समस्यामा छन् । घरबाट धेरैजसोले खानेकुरा र कपडासमेत निकाल्न सकेनन् । भएका खानेकुरा पनि सकिनै लागेको उनले बताइन् । निरन्तर पानी परेकाले जाडो बढे पनि उनीहरुसँग ओढ्ने, ओच्छ्याउने कपडाको समेत अभाव देखिएको छ । “सरकार छ जस्तो लाग्दैन, मनाङ अर्कै देश होजस्तो व्यवहार भएको छ, अहिलेसम्म सरकारले केही पनि राहत ल्याएको छैन”, उनले भनिन् ।

बाढी आउँदा सदरमुकाम चामेका केही स्थानीयवासी सामान्य घाइते समेत भएका थिए । तालगाउँका पनि केही मानिस घाइते भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । अपाङ्गता भएका र ज्येष्ठ नागरिक घाइते भएकाले उनीहरूको उद्धार गरी अन्यत्र लैजानुपर्ने अवस्था रहेको सीताले बताइन् । तालडाँडामा विस्थापित भएका ताल गाउँवासीले उक्त ठाउँबाट अन्यत्र लगेर राखीदिन सरकारसँग आग्रह गरेका छन् । “हामीलाई यहाँबाट अलि सजिलो ठाउँमा टेन्ट लगाएर बस्ने व्यवस्था गरिदिए हुन्थ्यो, यत्रो दिन भइसक्यो, न निदाउन पाएका छौँ, न राम्ररी खाना नै पाएका छौँ, दिनरात नै जागा बस्नुपरेको छ”, उनले भनिन् ।

बाढी र पहिरोका कारण मनाङको चामे, धारापानी, ताल, हुम्डे, पिसाङ, नार्पाभूमिलगायत स्थानका बासिन्दा सबैभन्दा धेरै जोखिममा छन् । झोलुङ्गे पुल बगाइएका छन् भने मोटरेबल पुल उच्च जोखिममा छन् । गोरेटो बाटोमा पनि पहिरोले निशाना मेटिएको छ । चामेबाट तल बेसीशहरतर्फ झर्ने त्यही एउटा मात्रै बाटो हो, यसबाहेक उनीहरूसँग अर्को विकल्प नै छैन ।

मनाङमा आठ वटा झोलुङ्गे पुल, तीनवटा काठे पुल र एउटा मोटरेबल पुल बगिसकेको छ भने तिमाङ र चामेको लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ । राष्ट्रिय प्रसारण लाइन लगेको बिजुलीका पोलसमेत ढलेका छन् । जसले गर्दा मनाङ अन्धकार भएको छ । बिजुली नहुँदा चामेबाहेक अन्य गाउँमा टेलिफोनको टावरसमेत सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । त्यस कारण गाउँसँगको सम्पर्क टुटेको छ, स्थलमार्गबाट आवतजावत अवरुद्ध भएको प्रजिअ लामिछानेले बताए ।

बाढीपीडितलाई खाद्यान्न वितरण भइरहेको भन्दै उहाँले खाद्यान्न अभाव नरहेको बताए । खानेपानीको समस्या भने मनाङमा उच्च रहेको उनको भनाइ छ । “सहयोगदाताबाट प्राप्त खाद्यान्न बाडिरहेका छौँ, जिल्लामा खाद्यान्न अभाव हुन दिदैनौँ”, प्रजिअ लामिछानेले भने, “खानेपानीको मुहान नै देखिएको छैन, खानेपानी आपूर्तिको प्रक्रिया नै देखिँदैन ।” जिल्लामा पानीका मुहान देखिए पनि सफा पिउने पानी पाउन मुस्किल छ ।

You might also like

Comments are closed.