हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

लमजुङ । मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् ।

हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाडौँ, पोखरातर्फ आउन थालेका हुन् । नासो गाउँपालिका–८ ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीय सविना गुरुङ र सोही हेलिकप्टरमा गोरखा सिरनचोकका २२ वर्षीय पुकार गुरुङ आज मनाङबाट हेलिकप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन् ।

पुकार गुरुङ भने गत जेठ २६ गते मनाङ ताचे घुम्न गएको र पहिराका कारण रोकिएर बसेका थिए । विष्णु घलेले भने, “मनाङ ताचेबाट हेलिकप्टरमा हामीले प्रतिव्यक्ति रु २० हजारका दरले तिरेर बेँसीशहर आएका हौँ । यसरी आउनु हाम्रो रहर होइन बाध्यता भएको उनको भनाइ छ । घलेले भने, “गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरुमा वारिपारि पहिरो अझै पनि गइरहेको छ । गाउँमा बिजुली लाइन छैन, वाइफाई छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन यतिबेला त्यहाँ धेरै समस्या रहेको उनीहरुको भनाइ छ ।”

footwear zone

हामीमध्ये लमजुङमा कोही शिक्षक कोही विद्यार्थी रहेको र सोका लागि पनि आएको चन्द्रकाशी गुरुङले बताए । उनले भने, “हिँडेर आउनलाई बाटो छैन, जोखिम बढी छ, नआऔँ भने यता काम पनि गर्न पाइँदैन । यसरी आउने हामी मात्र होइन गाउँका अन्य स्थानीयपवासी पनि हेलिकप्टरबाट लमजुङ काठमाडौँ जान थालेको उनीहरुको भनाइ छ ।

मनाङ घर भए पनि रोजगारीलगायत विभिन्न कामले जिल्लाबाहिर बस्नेहरु यतिबेला काठमाडौँ, लमजुङ हेलिकप्टरबाट जाने क्रम जारी रहेको विष्णु घलेले बताए । उनले भने, “यसरी जाँदा त्यहाँभन्दा तल नै सुरक्षित हुन्छ, आफ्नो काम पनि गर्न पाउँछन् । गाउँमा हुँदा अब मर्छौं होला, हाम्रो गाउँ वरिपरि पहिरो गएको छ, पानी रोकिएको छैन, गाउँबाट कतै जानलाई पनि बाटोसमेत सबै भत्किसकेकाले डरमा थियौँ तर अब भने बाँचिन्छ खुशी लाग्यो ।”

मनाङमा जोखिम अझै पनि कायम रहेकाले आफू खुशी र पैसा भएकाहरुले निजी हेलिकप्टरमार्फत पनि जिल्ला बाहिरका विभिन्न ठाउँमा गइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आज पनि वर्षा भएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेर चामेबाट माथिल्लो मनाङ जाने पुलसमेत उच्च जोखिम बनाएको उनको भनाइ छ । हेलिकप्टर लमजुङ हुँदै मनाङ आवतजावत गरिरहेको छ । यसरी आवजावत गर्दा यहाँका स्थानीयवासीको समेत सोतर्फ ध्यान केन्द्रित हुने गरेको छ ।

You might also like

Comments are closed.