पोखरालाई मेडिकल शिक्षा र स्वास्थ्यको हब बनाउन मणिपालले थप भूमिका खेल्नेछ: पौडेल

पोखरा । भारतको प्रतिष्ठित समूह मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा पोखरामा मणिपाल मेडिकल कलेज सञ्चालनमा ल्यायो । जुन निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज हो । प्रत्यक्ष बाह्य लगानीमा सञ्चालनमा आएको मणिपाल कलेज अब भने नेपालीकै स्वामित्वमा आउँदैछ । पोखराबाट व्यवसाय सुरुवात गरेर राष्ट्रियस्तरमा प्रतिष्ठित व्यावसायिक घरानाको पहिचान बनाएको बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले हस्पिटल खरिद सम्झौता गरिसकेका छन् । बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत सेयर रहने गरी हस्पिटल खरिद हुन लागेको हो ।

समय-समयमा हुने युनियन आन्दोलन लगायत विविध कारणले मणिपाल व्यवस्थापनले समस्या झेल्दै आइरहेको थियो । विदेशी लगानीलाई संरक्षण गरी लगानीमैत्री वातावरण सिर्जना गरिनुपर्छ भनेपनि मणिपाल व्यवस्थापनले त्यसको प्रत्याभूति महसुस गर्न सकेन । समस्याको जालो बढ्दै गर्दा एक दशक अगाडिबाटै मणिपाल व्यवस्थापनले मणिपाल कलेज तथा हस्पिटल बिक्री गर्न चाहेको थियो । भारतीय समूह हस्पिटल र कलेज बिक्री गरी बाहिरिन खोजिरहेको अवस्थामा बतास र अटोवेजले हस्पिटल खरिद गर्ने सम्झौता गरी आफ्नो स्वामित्वमा मणिपाललाई ल्याउन सम्झौता गरेका हुन् । पोखरामा लामो समयदेखि सञ्चालित मणिपाललाई पोखराकै प्रतिष्ठित व्यावसायिक घरानाले खरिद गरी व्यवस्थापनको जिम्मा लिनुलाई धेरैले प्रशंसासमेत गरेका छन् ।

आन्तरिक व्यवस्थापन समस्यै समस्या झेलेको र राज्यबाट पनि आवश्यकता अनुसार सहयोग नभएपछि भारतीय समूह हस्पिटल बेचेर बाहिरिन खोजिरहेको अवस्थामा आफूहरुले मणिपाल खरिद गर्ने निर्णयमा पुगेको अटोवेजका प्रवन्ध निर्देशक नारायण पौडेल बताउँछन् । ‘उनीहरु बाहिरिएर जान खोजिरहेको सन्दर्भमा हामीले खरिद नगरेपनि अरु कसैले खरिद गर्न सक्थ्यो,’ पौडेल भन्छन्, ‘पोखराको हस्पिटल पोखराकै व्यावसायिक समूहको लगानीमा सञ्चालनमा आउनुलाई सबैले राम्रो मान्नुपर्छ ।’ आफूहरुले हस्पिटल खरिदको सम्झौता गरेपछि धेरै पोखरेली तथा गण्डकी बासीबाट सकारात्मक प्रतिक्रिया पाएको पौडेलले बताए ।

footwear zone

पोखरालाई मेडिकल शिक्षा र स्वास्थ्यको हब बनाउन आगामी दिनमा मणिपालले अझै सहयोग पुर्याउने पौडेलको विश्वास छ । ‘स्वास्थ्यमा अतिकति समस्या हुनासाथ काठमाडौं जानुपर्ने अवस्था छ,’ उनले भने, ‘अब त्यो अवस्थालाई अन्त्य गर्न हामीले अझै सेवा, सुविधा तथा प्रविधि थप गर्नेछौं ।’ बतास र अटोवेज समूहले सम्पूर्ण दायित्वसहित ३ अर्ब ५० करोड रुपैयाँमा हस्पिटल खरिदसम्झौता गरेको हो । हस्पिटलमा आफूहरुले अझै १ अर्ब ५० करोड रुपैयाँ लगानी थप गर्ने पौडेलले जानकारी दिए । काठमाडौंको तुलनामा पोखराको उपचार अवस्था कमजोर रहेको बताउँदै पौडेलले अब त्यसलाई पुरा गर्ने बताए ।

बतास र अटोवेज समूहले साढे ३ अर्बमा किन्यो मणिपाल हस्पिटल

‘अर्बौं लगानी गरिसकेपछि पैसा कमाउन धेरै ठाउँ थिए । ३-४ अर्ब लगानी गर्दा जहाँ पनि पैसा कमाउन सकिन्थ्यो,’ पौडेल भन्छन्, ‘पोखराको मणिपाल हस्पिटल गण्डकी प्रदेशकै पहिचान बनेको छ । जुन हस्पिटलबाट विदेशी लगानीकर्ता बाहिरिन चाहिरहेको अवस्थामा लगानी गर्दा राम्रो सन्देश जान्छ भन्ने सोचेर नै हामीले सम्पूर्ण प्रक्रिया पुरा गरी खरिद सम्झौता गरेका हौं ।’

 

७५० शैय्याको हस्पिटलमा ११ सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आगामी दिनमा रोजगारी संख्या अझै बढ्ने पौडेलले बताए । सेवा थप गरी न्युरो र हर्टको सुविधा सम्पन्न हस्पिटल बनाउने उनले जानकारी दिए । ‘शैक्षिक कार्यक्रमहरु पनि थप गर्नेछौं,’ उनले भने, ‘मेडिकल शिक्षा लिन चाहने स्वदेशी तथा विदेशी विद्यार्थीहरुको पहिलो रोजाईमा मणिपाल बन्ने वातावरण बनाउनेछौं ।’

हस्पिटलको पूर्वाधारमा व्यापक रुपमा विस्तार र सुधार गर्ने नयाँ लगातीकर्ताको तयारी छ । अन्य व्यवसायको अनुभवलाई प्रयोग गरेर हस्पिटललाई अझै राम्रोसँग सञ्चालन गर्ने पौडेलले बताए । ‘पारदर्शिता र जिम्मेवारिताका साथ हामीले हस्पिटल तथा मेडिकल कलेज सञ्चालन गर्नेछौं,’ उनले भने ।

हस्पिटलको सम्झौता कम्पनी ऐन अन्तर्गत हुने पौडेलले जानकारी दिए । सन् १९९२ मा नेपाल सरकारसँग सम्झौता गरी १९९४ बाट हस्पिटल सञ्चालनमा आएको हो । हस्पिटलसँग ४० रोपनी आफ्नै जग्गा छ भने थप १ सय ६० रोपनी जग्गा नेपाल सरकारसँग लिजमा लिइएको छ । लिजमा लिइएको जग्गाको सम्झौता समय अझै झण्डै २५ वर्ष बाँकी छ । ‘लिजमा लिइएको जग्गा लिजको समय सकिएपछि कानुन बमोजिम हुन्छ । राज्यले आवश्यकता महसुस गरे थप गर्न पनि सक्यो । नत्र राज्यले लिन पनि सक्छ,’ पौडेल भन्छन् ।

व्यवसायमा साझेदारी बनाउँदै बतास र पौडेल

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेजका प्रवन्ध निर्देशक नारायण पौडेलबीच चिनजान भएको ४ दशक भइसकेको छ । पुरानो चिनजानलाई उनीहरुले २ दशक अगाडिबाट भने व्यावसायिक साझेदारीमा परिणत गरे । अटोवेज प्रालिबाट उनीहरुको व्यावसायिक साझेदारी सुरु भएको हो । त्यो साझेदारी इष्टर्न एजेन्सी प्रा.लि. हुँदै मणिपालसम्म आइपुगेको छ ।

You might also like

Comments are closed.