काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्रका लागि सबैभन्दा बढी योगदान माइक्रो फाइनान्स कम्पनीहरुले गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् । माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डल र अर्थमन्त्री जनार्दन शर्माबीच आइतबार मन्त्रालयमा भएको छलफलमा बोल्ने वक्ताहरुले विपन्न र गरिब जनताहरुको वित्तीय पहुँच बढाउन माइक्रो फाइनान्स सफल रहेको बताए ।
उक्त अवसरमा बोल्दै संस्थाका अध्यक्ष जगत पोखरेलले माइक्रो फाइनान्सले गाउँगाउँमा पुगेर सरल तथा सहज ढंगबाट वित्तीय सेवा प्रदान गरिरहेको बताउँदै राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । सरकारका पूर्व सचिव डा. मानबहादुर विश्वकर्माले गाउँगाउँमा रहेको पुँजीलाई चलायमान बनाउन तथा गरिब तथा विपन्न वर्गलाई वित्तीय सेवा प्रदान गर्न नेपालमा माइक्रो फाइनान्स कम्पनीहरुको योगदान महत्वपूर्ण रहेको बताए । ‘बैंकमा गएर धितो राखेर ऋण लिन नसक्ने जनतालाई माइक्रो फाइनान्सले कर्जा प्रवाह गर्दै उद्यमशीलता बृद्धिमासमेत योगदान पुर्याइरहेका छन्,’ उनले भने ।
उक्त अवसरमा एसोसिएसनको तर्फबाट अध्यक्ष पोखरेलले अर्थमन्त्री शर्मालाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका छन् । नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि गरेको निर्देशन लगायतका अन्तर्राष्ट्रिय प्रतिवद्घताहरु पुरा गर्न, सरकारले जारी गरको ‘राष्ट्रिय लघुवित्त नीति २०६४’, आवधिक योजना र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच समन्धी कार्य नीति र कार्य योजना पूर्ण रुपमा कार्यान्वयन गर्न, सरकारले जारी गरेको राष्ट्रिय लघुबित्त नीति २०६४ मा व्यवस्था भए बमोजिमको कोषका स्थापना गर्न माग गरिएको छ ।

लघुवित्त संस्थाहरुको कार्य प्रकृति नै अन्य बैंक नपुगेका तथा अति विपन्नलाई सामाजिक मध्यस्थता सहितसेवा पुर्याउने रहेकाले यसमा लाग्ने संस्थागत कर अरुलाई लाग्ने आधार समूह सदस्यको बचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने लगायत विषयमा एसोसिएसनले ध्यानाकर्षण गराएको छ । लघु बिमा, लघु वित्त सेवाको एउटा महत्वपूर्ण र अभिन्न हिस्सा रहेकाले बिमा समितिले बिमा कम्पनीहरुलाई आफूले गरेको विमाङ्कको कम्तिमा ५ प्रतिशत लघु बिमा गर्नुुपर्ने व्यवस्था भएकाले संस्थामा आवद्ध व्यक्तिको जीवन रक्षा र जिविकोपार्जनको बिमा गर्ने र बिमा कम्पनीहरुले पुनर्विमा सेवा दिनुपर्ने मागसमेत एसोसिएसनको गरेको छ । एसोसिएसनको मागप्रति आफू सकारात्मक रहेको अर्थमन्त्री शर्माले बताए । आवश्यक अध्ययन पछि राष्ट्रबैंकसँग समन्वय गरेर आफू अगाडि बढ्ने उनको भनाइ छ ।

उक्त अवसरमा एसोसिएसनको तर्फबाट अध्यक्ष पोखरेल, पूर्व सचिव विश्वकर्मासहित लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा, फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल, नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, ओमी माइक्रो फाइनान्सका सञ्चालक बिमला उपाध्याय, उन्नति सहकार्यको अध्यक्ष डा. अनिता शाह ढुंगाना लगायत सहभागी थिए ।
नेपालमा लघुवित्त वित्तीय संस्थाहरुले विगत ३ दशकदेखि सेवा प्रदान गर्दै आइरहेका छन् । माइक्रो फाइनान्सहरु गाउँहरुमा बैकिङ पहुँच, महिला सशक्तीकरण र उद्यमशीलता विकास गरि गरीबी न्यूनीकरण गर्ने उद्देश्यका साथ क्रियाशील रहेको अध्यक्ष पोखरेलले बताए ।




Comments are closed.