लघुवित्तका कर्मचारी माथि भएको कुटपिटको घटनाप्रति लघुवित्त बैंकर्स संघको आपत्ति

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपालप्रसाद उपाध्यायलाई अज्ञात समूहले कुटपिट गरी कालो मोसो दली अपमानजनक व्यवहार गरेको घटनाप्रति नेपाल लघुवित्त बैंकर्स संघले आपत्ती प्रकट गरेको छ । संघका अध्यक्ष प्रकाशराज शर्माले बुधबार विज्ञप्ति जारी गरी उक्त घटनाप्रति निन्दा तथा भर्त्सना गरेका हुन् ।

लघुवित्त वित्तीय संस्थाहरुले बिगत ३० वर्षदेखि ग्रामीण क्षेत्रमा गई बिनाधितो कर्जा उपलब्ध गराई ग्रामीण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागिरहेको स्मरण गराउँदै संघले यही क्रममा जाजरकोट जस्तो अति बिकट क्षेत्र गई गरिबी न्यूनीकरण र महिला सशक्तीकरणको लागि अहोरात्र खटिने लघुवित्त कर्मचारी माथि भएको उक्त घटना अमानवीय र अराजकताको पराकाष्ठा भएको संघले जनाएको छ । ‘यो घटनाको जति नै निन्दा गरेपनि कमै हुन्छ,’ संघले भनेको छ ।

वित्तीय कारोबार अत्यावश्यक सेवा रहेको र शान्ति सुरक्षाबिना यो सेवा उपलब्ध गराउन नसकिने संघले जनाएको छ । घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नुपर्ने लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीहरुको लागि झनै बढी शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने संघको विज्ञप्तिमा उल्लेख छ । ‘बिना बाधा व्यवधान, बिना रोकतोक सुरक्षित र शान्तिपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चिता गर्न नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्रबैंकसँग हार्दिक अपिल गर्दछौं,’ अध्यक्ष शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

footwear zone

You might also like

Comments are closed.