काठमाडौं ।नेपाली बजारमा फोटोनको नयाँ अमार्क टिएक्स मिनी ट्रक भित्रिएको छ । फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नयाँ अमार्क टिएक्स मिनी ट्रकलाई औपचारीक रुपमा बुधबार लन्च गरेको हो ।
यो व्यावसायिक मिनी ट्रकको बुधबारबाटै औपचारिक बिक्री शुभारम्भ समेत गरिएको छ ।व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको यो नयाँ ट्रक अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङमा आधारित रहेको दावी गरिएको छ । यो व्यावसायिक मिनी ट्रक नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध हुने जनाइएको छ ।
४ हजार १३० किलोसम्म भार वहन क्षमता भएको यो ट्रकले प्रदान गर्ने माइलेज समेत उच्च रहेको कम्पनीको भनाई छ । ठूलो आकारको लोडिङ डेक सहितको यो ट्रकबाट उच्चतम नाफा आर्जन गर्न सकिने वताइएको छ

यस ट्रकको ह्विलवेश २ हजार ८०० मिलिमिटर र ग्राउन्ड क्लिरियन्स १९० मिलिमिटर रहेको छ । उच्च ग्राउन्ड क्लिरियन्सका कारण नेपालको जुनसुकै भुभागमा सहजै पुग्न सक्ने विश्वास लिइएको छ । साथै यसमा सबै खाले अडियो–रेडियोहरु, अक्जुलरी र एमपि ३ रहेका छन्, जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन् ।
यो ट्रकमा इसुजु टेक्नोलोजीमा आधारित २.८ लिटर यूरो थ्रि डिजेल इन्जिन जडान गरिएको छ । जसले ३ हजार ६०० आरपिएममा ७६ किलोवाट पावर र १ हजार ९०० देखी २ हजार २०० सम्मको आरपिएममा २२५ एनएम टर्क जेनेरेट गर्ने दावी छ ।
कम्पनीका अनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्त एर्गोनोमिक र हिटर समेत भएको आरामदायी क्याबिन, एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्विल सहित बजारमा आएको हो । नेपाली बजारमा यसको मूल्य २५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।




Comments are closed.