चितवन । गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् ।
कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीको बारेमा जाँचबुझ भइरहेको उनले जानकारी दिए।
मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवार विचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो। सोही निर्देशनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने छ। छलफलमा सहमति नभए कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताए ।
कारबाहीका लागि प्रहरीकोमा पठाएसँगै गृह मन्त्रालयमा समेत सिफारिस गरिने उनले जानकारी दिए। उनले भने, “बैंकिङ कसुर र मुलुकी अपराध संहिताअनुसार मुद्दा चल्छ ।” चलनचल्तीको भन्दा बढी बयाज लिन नपाइने उनको भनाइ छ ।




Comments are closed.