काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज महाशाखामा एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गरेका हुन् । विभिन्न मितिमा मोटरसाइकल चोरीमा संलग्न ११ व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा बुझाएको समेत उनले जानकारी दिए ।
“असुरक्षित पार्किङस्थल, एकान्तस्थलमा पार्किङ गरेका र अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाइकल बढी चोरी भएको पाइएको छ”, महाशाखाका प्रमुख भट्टराईले भने, “धनीले सावधानी अपनाउने हो भने चोरीबाट जोगिन सकिन्छ ।”

अतिरिक्त लक प्रयोग गर्न, घण्टी बज्नेलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न पनि महाशाखाले सबैमा उनले अनुरोध गरेका छन् । प्रलोभनमा नपरी घुस दिन खोज्ने सवारी चालकलाई पक्राउ गर्ने प्रहरीलाई आज पुरस्कृत गरिएको छ । महाशाखा तथा मातहतमा कार्यरत २२ प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको महाशाखाले जनाएको छ ।




Comments are closed.