काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्जा र तनहूँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्जा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी १ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो ।
बैंक स्थापनाको दिन पारेर बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्न भएका छन् । यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।
साथै, बैंकले यसै उपलक्ष्यमा कोरोना महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एन.एफ.सी.) मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाल पिओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार नै रु. २,०००÷– सम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्ड मार्फत पिओएस टरमिनल मार्फत भुक्तानी गर्न सकिनेछ ।

यसै गरी VISA CARD अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा गर्ने आदि जस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।






Comments are closed.